पु.समाचार

वर्तमानले भविष्यको मार्गनिर्देश गर्छ, आजैदेखि आफैंबाट थालनी गरौँः प्रधानसेनापति थापा

३ फागुन, काठमाडौं । नेपाली सेनाले केही गैह्रसैनिक व्यक्तिसमेतको सहभागितामा सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी सैनिक मुख्यालय जङगीअड्डामा चार दिने बृहत गोष्ठी प्रारम्भ गरेको छ ।
सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक तथा व्यावहारिक आधार तयार गर्न सुझाव प्राप्त गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेअनुरूप त्यसमा आधारित भएर सेनाले उक्त कार्यक्रम गरिएको बताइएको छ । प्रधानसेनापति थापाले गोष्ठीको उद्घाटन गर्दै हामी सबैले सकारात्मक सोचलाई अघि बढाउने र आफ्नो संस्थालाई सुदृढ, आधुनिक व्यावसायिक बनाउने कार्यको थालनी सबैमा आजैदेखि आफैबाट शुरु गर्नुपर्छ भन्ने दृढ अठोट हुनुपर्छ भने ।
उनले भने, “वर्तमानले भविष्यको मार्गनिर्देश गर्छ, सङ्गठनात्मक सुदृढीकरणका लागि व्यक्ति र संस्थामा परिवर्तनको सोच हुनुपर्छ, त्यसका लागि चालिएका कदम कहिलेकाही दुखदायी हुनसक्ने भए पनि अन्ततः सकारात्मक नै नतिजा हासिल हुन्छ, त्यसैले आजैदेखि, आफैंबाट, हामीले नै त्यो कामको थालनी गरौँ ।

सेनाका विशिष्ट श्रेणीसहित ७५, रक्षा मन्त्रालयका दुई, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना अधिकृत उक्त कार्यक्रममा सहभागी छन् । सहभागीलाई १६ समूहमा विभाजन गरी विषय विज्ञबीच प्रस्तुतीकरण र छलफल गरी निष्कर्ष निकालिने बताइएको छ ।
सङ्गठनमा विद्यमान पद्धति र प्रणालीलाई सुदृढ तुल्याउँदै भावी पुस्ताको नेतृत्वलाई उक्त प्रक्रियामा हिस्सेदार र जिम्मेवार बनाउने कार्यक्रमको लक्ष्य रहेको जानकारी दिइएको छ ।