गण्डकी प्रदेश

शनिबारदेखि काउलेपानी घरबास खुला

३० माघ, लमजुङ । कोभिडले प्रभावित बनेको करिब एघार महिनापछि पर्यटकका लागि यहाँका काउँलेपानी घरवास (होमस्टे)शनिबारदेखि खुल्ला हुने भएको छ । समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकलाई खुल्ला गर्ने भएको हो ।

आज बसेको काउलेपानी पर्यटन विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । कोभिडका कारणले सरकारले लकडाउन गरेको गत चैत ११ गतेदेखि नै बन्द रहेको यस घरवासमा शनिबारदेखि सुरक्षा सतर्कता अपनाउँदै घरवास सञ्चालन गर्ने गर्न लागिएको यस समितिका अध्यक्ष देबबहादुर गुरुङले बताए । “यहाँ घरवासमा आउने पर्यटकलाई नै अनिवार्य मास्क प्रयोग गराउँछौँ, हामीले पनि प्रयोग गर्छौँ साथै, सेनिटाइजारलगायत सुरक्षा मापदण्ड अपनाउनेछौँ”, उनले भने । सामाजिक दूरी कायम गर्दै विगत जसरी नै पर्यटकलाई स्वागत सत्कार तथा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिने उक्त समितिले जनाएको छ । समितिका अनुसार यहाँ आएका पर्यटकको मनोरञ्जनका लागि गुरुङको लोपोन्मुख कृष्ण चरित्र, घाटु, घ्याब्रे नाचलगायत विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गर्नेछ ।

सन् २०११ बाट सञ्चालनमा आएको यस घरवासमा १५ घरमा घरवासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको घरवास रहेको छ भने, यी सबै घरवासमा गरी ८८ वटा पर्यटक एकै रातमा सुत्न सकिने बताइएको छ । यस काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छे«, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डा हर्कपिकलगायत एक दर्जन हिम श्रृङ्खला देख्न सकिन्छ । साथै शाहवंशीय राजाको उथमथलो मानिने लमजुङ दरबार, सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । यहाँ पूजा तथा दर्जन गर्नाले मनोकांक्ष पूरा हुने जनविश्वास छ । त्यस्तै, गाउँमा रहेको काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । प्रति पर्यटकलाई एक रातको रु एक हजार ५० लाग्ने गर्दछ । जिल्लामा विस्तारै बन्द रहेको घरवास सञ्चालन हुने तयारीमा रहेका छन् ।

गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टिका (अक्षता)ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीन पटक गाउँलेले पर्यटकलाई खुवाउने गर्दछन् । अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ ।

स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन् । त्यस्तै, रात्रिको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँछन् ।

छुट्टिने बेलामा विदाई गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोसेली स्वरुप सेल रोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ । बेँसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदलयात्रामा साढे एक घण्टा समय लाग्छ । पैदल यात्रुहरूका लागि सिंढी निर्माण गरिएको छ भने, सवारी साधनमा जाने पर्यटकको लागि सडकको स्तोरोन्ती गरिएको छ ।

त्यस्तै, कोभिडले प्रभावित पारेको जिल्लाकै सबैभन्दा पहिला सञ्चालनमा आएको दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ र वडा–४ भुजुङ, मस्र्याङ्दी गाउँपालिकास्थित सिउरुङ, राइनास घरवास सञ्चालनमा आइसकेको छ ।