शिक्षा

बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग

३० माघ, सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाको चुकेडी गाउँमा रहेका दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार राजेन्द्र बानियाँले सहयोग गरेका छन् । यही माघ २३ गते परेको हिमपातपछि माघ २४ गते कापी, कलमलगायत घरखर्च चलाउनका लागि बाक्लो हिउँमा दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका बालबालिकालाई पत्रकार बानियाँले आज सहयोग गरेको हो । पत्रकार बानियाँ हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न संचालक छन् ।

माघ २५ गते राष्ट्रिय समाचार समितिद्वारा ‘घरखर्च चलाउन दाउरा बेच्दै’ शीर्षक समाचार र तस्वीर प्रकाशन भएपछि पत्रकार बानियाँले ती बालबालिकाको दुःख देखेर ३० हजार रासस समाचारदाता दाने बोहरालाई पठाएका थिए । सो रकमबाट १, ३, ४ र ५ कक्षामा अध्ययनरत बालबालिकालाई एक वर्षका लागि पुग्ने १४ प्रकारका शैक्षिक सामग्री किनेर हस्तान्तरण गरिएको हो । बालबालिकालाई कापी, कलम, ज्यामिति बक्स, क्याल्कुलेटर, रङ, डटपेन, सिसाकलम, सामान्यज्ञानको पुस्तक, खेल सामग्री, झोला, जुत्ता, विद्यालय पोशाकलगायत सामान दिइएको हो ।
हुम्ला उच्च हिमाली भएकाले त्यो दिन हिउँ बाक्लो परे पनि ती बालबालिकाले आफ्नो खर्च चलाउनका लागि दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका थिए । ती बालबालिकाका साथै वडा नं ७ डाँडाफया गाउँका प्रायः सबै बालबालिका आफ्नो खर्च चलाउनका लागि सार्वजनिक बिदाको दिन र शनिबार दाउराको भारी बोकेर सिमकोट आउने गरेका छन् ।
गाउँबाट सदरमुकाम सिमकोट पुगेका बालबालिकाले एक भारी दाउराको रु पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरेर बेलुका घर फिर्ता हुने गर्छन् । आफ्ना बालबालिकालाई शैक्षिक सामग्रीदेखि अन्य सहयोग गरेकामा अभिभावक पिउली सुनारले धन्यवाद दिए । सामग्री पाउँदा बालबालिकाले खुशी भई पत्रकार बानियाँलाई धन्यवादसमेत दिएका छन् ।