राजनीति

ओली पक्षको नेकपामा प्रवेश गर्नेहरुको यसरी चल्दै छ लहर

२५ माघ, काभ्रेपलाञ्चोक / बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे ।
यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले जानकारी दिए । उक्त कार्यक्रममा बाँस्कोटाले भने, “नेकपामा प्रवेशको लहर चलेको छ ।”
नेकपाका काभ्रेपलाञ्चोकको इन्चार्जसमेत रहेका बाँस्कोटाका अनुसार नेकपामा पार्टी प्रवेशको कार्यक्रमले अब तीव्रगतिमा निरन्तरता पाउनेछ । यही माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि चौलागाईँले नेकपाको जिल्ला भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद र राष्ट्रियता’ले जनताको मन जितेको दाबी गर्दै नेकपामा प्रवेश गरेको घोषणा गरे । पार्टी प्रवेशका बनेपा र धुलिखेल नगरका दुई कार्यक्रममा १४५ चन्द समूहका नेता कार्यकर्तालाई बाँस्कोटाले स्वागत गरेका थिए । धुलिखेलमा ७५ र बनेपामा ७० चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
चन्द समूहका राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष, पूर्वी ब्यूरो सदस्यलगायत अधिकांश चन्द समूहका जनवर्गीय सङ्गठनका पदाधिकारी रहेका थिए । चन्द समूहका अन्य नेता कार्यकर्तालाई नेकपामा प्रवेशबारे छलफल भइरहेको बाँस्कोटाले बताए । “अधिकांश जिल्लाबाट चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरिरहेका छन्”, उनले भने ।
करिब एक वर्षअघि बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाई जिल्लामा अभियानकै रूपमा सञ्चालन गर्दै आएका छन् । उनको पार्टी प्रवेश गराउने शृङ्खला गत साउन महिनादेखि शुरु भएको हो । बाँस्कोटाको सक्रियतामा पनौती नगरस्थित बल्थलीमा कांग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४ नेता कार्यकर्तालाई नेकपामा प्रवेश गरे ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेश गराएको बाँस्कोटा बताउछन् । “केही विकास–क्रान्ति देखेर, केही मुलुक समृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेको पाएको छु”, उनले दाबी गरे । बाँस्कोटाको सक्रियतामा हालसम्म दोस्रो ठूलो दल विभिन्न पार्टीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । उनका अनुसार अभियानकै रूपमा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा क्रमशः पार्टी प्रवेश कार्यक्रमले निरन्तरता पाउनेछ ।