विचार/ब्लग

जय नेपाल श्रीराम दाई !

लोकेश ढकाल/ देशको प्रजातान्त्रिक आन्दोलनको स्थीरता र सुदृढता नदेख्दै, सिंगो देशको राजनीति र राष्ट्रियता माथि अनेक खालको चुनौतिको बादल मडारिरहेको अवस्था र यस्तो अवस्थामा देशको प्रजातान्त्रिक आन्दोलनको धरोहर नेपाली काँग्रेस पार्टी कमजोर र निरिह भएर वसेको उदेक लाग्दो आवस्थामा नेपालको सिङ्गो प्रजातान्त्रिक आन्दोलन, विशेष गरेर काठमाडौं उपत्यकाका एक परिचित प्रजातान्त्रिक योद्धा श्रीरामको जीवन–लिला गत वर्ष माघ २० गते सदाको लागि समाप्त भयो । आज काँग्रेस नेता श्रीराम श्रेष्ठको प्रथम वार्षिक पुण्य तिथि ।
युवा श्रीरामको सुरूका दिन राजनीति प्रति खासै अभिरूचि देखिंदैन । उनका सहोदर दाजु केशवलाल श्रेष्ठ भने पञ्चायती निरंकुशताको विरूद्ध निकै सक्रिय थिए । केशवलाल नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरको निकट रहेर पार्टीमा काम गरिरहेका थिए । श्रीरामले २०२३ साल देखि राजनीतिक रूपमा आफ्ना दाजुलाई अलिअलि पछ्याउन थाले, सघाउन थाले । आफ्ना दाजुको युवा अवस्थामा नै ०३० सालमा दुःखद निधन पछि भने श्रीराम श्रेष्ठको राजनीतिक सक्रियता बढ्दै गएको हो ।
प्रजातन्त्रका सेनानी श्रीराम श्रेष्ठले कहिल्यै पनि राजनीतिको अग्रमोर्चामा रहेर काम गरेनन् भन्दा अन्यथा हुँदैन । एकाध पटक प्रहरी हिरासतको दर्शन गर्ने मौका पाए । प्रनेकाले पञ्चायतको आउटपोष्ट कब्जा गर्ने रणनीति कै तहमा ०४३ चैतमा गाउँ तथा नगर पञ्चायत निर्वाचनमा भाग लिएको अवस्थामा काठमाडौं नगर पञ्चायतको निर्वाचनमा काँगे्रसका उमेद्वार हरिवोल भट्टराई र तीर्थराम डंगोलले क्रमशः प्रधानपञ्च र उपप्रधानपञ्चमा विजयी भए । हरिवोल र तीर्थरामले पार्टीको निर्देशन अनुसार ०४५ पौष १ गतेको पञ्चायत दिवस समारोहलाई वहिस्कार गरेको कारण दुवैलाई प्रधानपञ्च र उपप्रधानपञ्चबाट पञ्चायती निरंकुश सत्ताले निलम्वन गरेको थियो । पौष १८ गते काठमाडौंका नागरिकको तर्फबाट हरिवोल भट्टराई र तीर्थराम डंगोललाई काठमाडौंको बसन्तपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो । सोही कार्यक्रमका लागि बसन्तपुर तर्फ जाँदै गर्दा हरिवोल भट्टराई तीर्थराम डंगोल, बामपन्थी नेता पद्मरत्न तुलाधरका साथमा श्रीराम श्रेष्ठ पनि गिरफ्तार हुनु भएको थियो । त्यस वेला अरूलाई जेल चलान गरियो, श्रेष्ठ एक साता पछि रिहा हुनु भएको थियो ।
०३६ को विद्यार्थी आन्दोलन, ०३७ को जनमत संग्रह, ०४६ सालको जनआन्दोलन, पछिल्लो प्रतिगमन विरूद्धको आन्दोलन र ०६२/०६३ को आन्दोलनका क्रममा वेलामौकामा प्रहरी हिरासतको मेजमान वाहेक श्रीराम श्रेष्ठले जेलको चार दिवार भित्र कहिल्यै छिर्ने अवसर पाएनन् भनेर भनिरहँदा प्रजातन्त्र प्रतिको उनको प्रतिवद्धता र देशको प्रजातान्त्रिक आन्दोलनमा उनको योगदानलाई कम आँक्न मिल्दैन । विशेष गरेर श्रीराम श्रेष्ठले आफ्नो व्यवसायलाई पनि जारी राख्दै तत्कालिन प्रतिवन्धित नेपाली काँग्रेसलाई पृष्ठभूमिमा वसेर हरतरहले सघाउने काम गरिरहे जुन आँफैमा अभूतपूर्व योगदान थियो ।
०३५/०३६ सालको विद्यार्थी आन्दोलन पछि देश बहुदल कि निर्दल भन्ने जनमत संग्रहका लागि लागिरहेको वेला श्रीराम श्रेष्ठ बहुदल प्रचार समिति अन्तरगतको आर्थिक उपसमितिको संयोजक रहेर बहुदलको पक्षमा आर्थिक व्यवस्थापनको काममा डटेर सक्रिय रहे । ०३६ पछि वीरनाथ कर्माचार्य प्रतिवन्धित नेपाली काँग्रेसको काठमाडौं जिल्ला कार्यसमितिको सभापति भैरहँदा श्रीराम श्रेष्ठ त्यसको सदस्य थिए । ०४३ मा बीरनाथ कर्माचार्यको निधन पछि मार्शलजुलुम शाक्य प्र.नेपाली काँग्रेस, काठमाडौंको सभापति भैरहँदा श्रीराम श्रेष्ठ त्यसको पनि सदस्य भएर पञ्चायती निरंकुशताको विरूद्ध प्रजातन्त्र स्थापनाका लागि लागिरहे । ०४६ साल चैत्र २६ गते जनआन्दोलन सफल भएर बहुदलीय व्यवस्था पुनःस्थापना भए पछि मार्शलजुलुम शाक्य किसुनजीको मन्त्रिपरिषदमा सदस्य वन्नु भए पछि प्रकासमान सिंह काठमाडौं काँग्रेसको सभापति वनिरहँदा श्रीराम श्रेष्ठ सो कार्यसमितिको कोषाध्यक्ष वनेर काठमाडौं काँग्रेसको आर्थिक व्यवस्थापन र संगठन विस्तारमा सक्रिय योगदान दिएका थिए ।
देशको प्रजातान्त्रिक आन्दोलन र काठमाडौंको काँग्रेस संगठनको निर्माणमा श्रीरामले खेलेको विशेष भूमिकाको कदर गर्दै नेपाली काँगे्रसले ०४८ सालमा राष्ट्रिय सभा सदस्यमा सम्मानपूर्वक मनोनित ग¥यो र उनले ४ वर्ष राष्ट्रिय सभा सदस्य भएर संसदीय परिपाटीको विकासमा आफ्नो योगदान गरे ।
देशको प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरी वर्षाैं जेल र अनेक कष्ट उठाएका नेपाली काँग्रेसको हजारौं कार्यकर्ताहरू जसले कहिल्यै कुनै राजनीतिक नियुक्ति र अवसर नपाई रहँदा श्रीराम श्रेष्ठले कमसेकम एक पटक राष्ट्रिय सभा सदस्य हुने मौका पाए नि भनेर चित्त वुझाउन त सकिन्छ नै तथापि सरल, मिलनसार र सहयोगी भावना भएका काँग्रेस नेता श्रेष्ठले कुनै त्यस्तो पद र प्रतिष्ठा पाउनका लागि राजनीतिक महत्वकांक्षा भने कहिल्यै देखाएनन् ।
प्रतिवन्धित कालमा नेपाली काँग्रेसको जमल स्थित केन्द्रिय कार्यालय वाहेक काठमाडौं काँग्रेसको छुट्टै कार्यालय थिएन । केन्द्रिय कार्यालय पछि सर्वोच्च नेता गणेशमान सिंहको क्षेत्रपाटी, चाक्सिवारी स्थित निवास, चावहिल स्थित कोइराला निवास र कुपण्डोलको किसुनजीको निवास नै पार्टी गतिविधि र प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो । काठमाडौं काँगे्रसको केन्द्र त चाक्सिवारी स्थित गणेशमान सिंहको निवास नै थियो भने एक प्रकारले बागवजार स्थित श्रीराम श्रेष्ठको निवास दोस्रो चाक्सिवारी जस्तै लाग्थ्यो हामी आन्दोलनमा कुद्ने तत्कालिन युवाहरूलाई ।
०४३ साल चैतको अन्तिम साता सम्पन्न काठमाडौं नगर पञ्चायतको चुनावको परिचालनको केन्द्र बागवजार स्थित श्रीराम निवास नै थियो भने ०४६ सालको जनआन्दोलन, ०६० को प्रतिगमन विरूद्धको आन्दोलन र ०६२/०६३ को जनआन्दोलका क्रममा पनि बागवजार स्थित श्रीराम निवास एउटा केन्द्र नै थियो । हामी काठमाडौंका कार्यकर्ताहरू त्यही निवासमा जम्मा भएर आन्दोलनमा सरिक हुन्थ्यौं ।
आन्दोलनको दृष्टिले मात्र होइन, उनको निवासमा ०४६ को अघि र पछि सर्वोच्च नेता गणेशमान सिंहको वरोवर उपस्थिति, गणेशमान सिंह, किसुनजी, गिरिजा वावु लगायतका शिर्ष नेताको वेलामौकामा मिटिङ्ग गर्ने थलो, कतिपय केन्द्रिय स्तरको मिटिङ्ग हुने, अन्य दलका नेतासंगको भेटघाटको थलो, काठमाडौं जिल्ला कार्यसमितिको वैठक समेत हुने भएको कारणले पनि त्यस वेलाका म जस्ता थुप्रै युवाहरूका लागि श्रेष्ठ निवास दोस्रो चाक्सिवारी जस्तै लाग्थ्यो ।
निश्चयः नै राजनीतिज्ञको निजि निवासमा राम्रो राजनीतिक वातावरण वनाई राख्न परिवारका सदस्यको ठुलो सहयोग र त्याग रहेको हुन्छ । श्रीराम श्रेष्ठको निवासमा विभिन्न प्रसङ्गमा आउने कार्यकर्तालाई स्नेहपूर्वक स्वागत गर्ने स्वं केशवलाल श्रेष्ठकी पत्नी श्रीराम श्रेष्ठकी भाउजु कृष्णप्यारी श्रेष्ठ र परिवारका अन्य सदस्यको हार्दिकता पनि त्यति कै प्रेरणादायी थियो ।
लामो समय देखि मधुमेह रोगबाट पीडित, जीर्ण र ८२ वर्षको कमजोर शरीर लिएर लौरो टेक्दै निधनको केही महिना अगाडि मात्र राष्ट्रिय सभागृहमा काँग्रेसको एउटा कार्यक्रममा सहभागिता भैरहेका श्रीराम दाईलाई यो पंतिकारले भेटिरहँदा उनी आँफुले जीवन विताएको पार्टीको पछिल्ला गतिविधि र दयनीय अवस्था देखेर निरास थिए । श्रीराम दाईलाई भेट्दा म सँधै एक निकट अग्रजको न्यानोपन पाउँथे भने श्रीराम दाई मलाई भेट्दा सदा पारिवारीक स्नेहले स्वागत गरेको पाउँथे ।
काठमाडौं काँग्रेसले विगत २।३ वर्षमा प्रजातान्त्रिक आन्दोलनको एउटा युग हल्लाउने मार्शलजुलुम शाक्यलाई गुमाउनु प¥यो, गएको वर्ष आजैका दिन श्रीराम श्रेष्ठ जस्तो सरल योद्धालाई गुमाउनु प¥यो भने एक महिना अगाडी मात्र काठमाडौं काँग्रेसका भद्रयोद्धा श्यामलाल श्रेष्ठलाई गुमाउनु पर्दा पार्टी र प्रजातान्त्रिक आन्दोलनले त अपुरणीय क्षति त व्यहोर्नु प¥यो नै उहाँहरूसंगको राजनीतिक संगत पाएको एउटा कार्यकर्ताका लागि राजनीतिक अभिभावक गुमाएको अनुभुति भैरहेको छ ।
नेपाली काँगेसको एक सिपाईं र प्रजातान्त्रिक आन्दोलनको योद्धा ‘श्रीराम’ अब हामी बीच रहेनन् । बागवजार स्थित श्रीरामको सेतो अग्लो त्यो घर अब हामी आम काँग्रेसीका लागि विरानो जस्तै भयो, कताकता त्यो बागवजार नै सुनसान जस्तै भयो । ‘हार्दिक श्रद्धाञ्जली श्रीराम दाई ! जय नेपाल श्रीराम दाई !’

(सन्दर्भः काँग्रेस नेता श्रीराम श्रेष्ठको प्रथम स्मृति दिवस)