पु.समाचार

वडा नम्वर २ लाई गजराज जोशी कपको उपाधि

१६ माघ, काठमाडौं । वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्वर २ लाई अग्रता दिलाएको थियो ।
६७औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नम्वर २ को अग्रता दोब्बर बनायो । ७३औं मिनेटमा कप्तान सरोज श्रेष्ठले गोल गर्दै वडा नम्वर २ लाई उपाधि दिलाए । वडा नम्वर ८ ले पनि केही अवसर पाएपनि सदुपयोग हुन नसक्दा उपाधि बिमुख बन्यो ।
उपाधिसँगै वडा नम्वर २ ले ७० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएको वडा नम्वर ८ ले ३५ हजार रुपैयाँ प्राप्त गरे । वडा नं ८ का अनिल थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । वडा नम्वर २ का सन्जय श्रेष्ठ उत्कृष्ट गोलरक्षक, वडा नम्वर १ का सागर डगोंल उत्कृष्ट डिफेन्डर र प्रतियोगितामा ५ गोल गरेका वडा नम्वर २ का सरोज श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए । ।उनीहरुले समान ३–३ हजार रुपैया प्राप्त गरे । प्र्रतियोगितामा वडा नम्वर ६ अनुशाासित टोली घोषित भए । विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला , नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, वडा नं १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, आयोजक एसडि ९९ स्र्पोटस कर्नरका अध्यक्ष सुजन दुलाल लगायतले पुरस्कृत गरे ।
५ माघदेखि शुरु भएको प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको थियो । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको थियो ।