प्रदेश 1

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

१४ माघ, झापा / भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ ।
विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा २०५४ मङ्सिर ११ गते टीकादेवी विमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा कीर्ते मोही हक कायम भएको थियो । राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएका तीनै जना व्यक्ति वास्तविक मोही थिएनन् । राजगुठीका मोहीले शतप्रतिशत जग्गा पाउने कानूनी व्यवस्था भएको हुँदा जग्गा हत्याउन षड्यन्त्रपूर्वक कीर्ते मोही खडा गरिएको थियो ।
लामो समयको विवाद र मुद्दामामिला भएपश्चात स्व टीकादेवी विमलीको छोरा केशवप्रसाद विमलीले सोमबार झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरिदिए । नेपाल सरकारको सहसचिवसमेत रहेका विमलीले ‘हक छाड सनाखत’ प्रावधानअन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरिदिएको मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताए ।
उनका अनुसार मालपोत कार्यालयले ‘हक छाड सनाखत’को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरूपमा गुठीको नाममा फिर्ता हुनेछ । फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका–३ को कित्ता नं १२० को एक बिघा दुई कठ्ठा १० धुर, कित्ता नं ८२२ को छ कठ्ठा, कित्ता नं ८२५ को १३ कठ्ठा र कित्ता नं ८१५ को सात कठ्ठा आठ धुर रहेको छ ।
सार्वजनिक सम्पत्ति हडपेको आरोप लागेकामध्ये केशवप्रसाद विमलीले मात्र जग्गा फिर्ता गरेका छन् । सूर्यकुमार विमली र रमेश महर्जनले जग्गा फिर्ता गरेका छैनन् । अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर अदालतमा मुद्दासमेत हालेका थिए । सर्वोच्च अदालतले २०६६ फागुन ९ गते कीर्ते मोहीकै नाममा मोही हक कायम गरिदिएको थियो ।
विर्तामोडका पत्रकार गणेश पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएलगत्तै नेपाल सरकारका सहसचिवसमेत रहेका विमलीले जग्गा फिर्ता गरिदिए । स्व डोमालाल राजवंशीले दुर्गा मन्दिरलाई १३ बिघा जग्गा दान दिएपछि त्यही जग्गा गुठीको स्वामित्वमा वर्षौँदेखि रहँदै आएको थियो । हाल सो जग्गामा स्थानीयवासीले डोमालाल रङ्गशाला निर्माण गरेका छन् ।