पु.समाचार

नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्–दहाल नेपाल पक्ष

१३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको बल प्रयोगको घटना दुःखद् भएको जनाएको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आज साँझ विज्ञप्तिमार्फत संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिकले चालेको अग्रगमनको रक्षाका लागि भएको प्रदर्शनमाथि बल प्रयोगको विरोध गर्दै संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र सङ्घर्षशीलताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।
सोमबार निषेधित क्षेत्रमा प्रवेश गरेको जनाई प्रहरीले नागरिक समाजका अगुवामाथि बालुवाटार क्षेत्रमा पानीको फोहरा हान्दा केही सहभागी घाइते भएका थिए । वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न अध्यक्षद्वयले सरकारलाई आग्रह गरेका छन् ।
यसैबीच नागरिक आन्दोलनमा गम्भीर घाइते भएका निर्घराज जैसीको स्वास्थ्यावस्थाका बारेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी लिई स्वास्थ्यलाभको कामना भएको उनका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।