लुम्बिनी

टिनको छानो भएका घर बनाउँदै सरकार

१३ माघ, बाँके । सरकारले बर्दियामा चार हजार २४६ टिनको छानोसहित घर निर्णाण गर्ने भएको छ । जनतालाई सुरक्षित नागरिक आवास निर्माण गर्ने अभियान अन्तर्गत बारबर्दिया नगरपालिकाले गरीबको घरको छानो बनाउने योजना बनाएको छ । नगरप्रमुख दुर्गाबहादुर थारुले भन्नुभयो, “यस वर्ष प्रत्येक वडाका ४० घर परिवारको घरको छानो निर्माण गर्दैछौँ । नगरमा ३४४ घरमा टिनको छानो लगाइनेछ ।”

सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रममार्फत यहाँका ७५ प्रतिशत गरीब मुक्तकमैयाको बस्ती निर्माण गर्न लागिएको हो । यहाँका बस्तीमा अधिकांश घर फुसको छानो भएका छन् । बर्दियामा दुई हजार १० घरका छानो निर्माणसँग घरसमेत निर्माण हुने भएको छ । बाँकेका दुई हजार २३६ घरमा टिनको छानो लगाइँदै छ । बर्दिया नगरपालिकाको वडा नं १ देखि ११ सम्मका प्रत्येक वडाका ४०, ४० वटा घर निर्माण गर्न ५०, ५० हजारको दरले सहयोग गरी छानो निर्माण गर्न लागिएको नगरप्रमुख थारुले बताए ।

“सरकारको योजनाअनुसार वडा नं ११ मा पनि ४० वटा गरीबको घर निर्माणका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धताअनुसार नामावली र घरको फोटो खिचेर ल्याएको छौँ”, वडाध्यक्ष विजयकुमार चौधरीले भने । आफ्नो वडामा पनि तथ्याङ्क सङ्कलन भइरहेको १० नम्बर वडाध्यक्ष नीरजकुमार चौधरीले जानकारी दिए । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अवधारणा अघि बढेको बढाएको र सोही अनुसार सरकारको कार्यक्रम सार्थक बनाउन बारबर्दिया नगरपालिका लागिपरेको प्रशासकीय अधिकृत दशरथ बुढाले जानकारी दिए । गरिबले घरको छानो बलियो बनाउन नसक्दा बर्खामा घर चुहिने र हिउँदमा चिसो हुने समस्या भएको थियो । यस पटक सरकारले टिनको छानो बनाइदिने भएपछि वडा नं ११ निवासी सुिनता चौधरीले खुशी व्यक्त गरे ।

गुलरिया नगरपालिकामा २८० वटा गरीबको छानो निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए । राजापुर नगरपालिले ३०३ वटा छानो निर्माण गर्न लागेको राजापुर प्रमुख शिवप्रसाद थारुले बताए । गेरुवा गाउँपालिका बर्दियामा २२७ वटा बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए ।

त्यसैगरी ठाकुरबाबा नगरपालिका बर्दियामा १९७ वटा निर्माण गर्न लागिएको छ । त्यसैगरी बाँसगढी नगरपालिकामा २०० घर निर्माण गर्न लागेको प्रमुख शालिकराम अधिकारीले बताए । बढैयाताल गाउँपालिकामा २६९ सुरक्षित नागरिक आवास निर्माण गर्न लागेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।

शहरी भवन तथा डिभिजन कार्यालय बाँकेले नरैनापुर गाउँपालिकामा ३६६ घर परिवारलाई टिनको छानो विरतण गर्न लागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए । उनका अनुसार नरैनापुर–६ वडामा प्रत्येक वडामा गरी ६१, ६१ गरी निर्माण गर्न लागिएको छ । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा अधिकांश फुसका छाना भएका घर भएकाले बर्सेनि भीषण आगलागीका घटना हुँदै आएको थियो । सबैजसो घर एकापसमा जोडिएका कारण एक घरमा आगलागी हुँदा बस्ती नै सखाप हुने गरेको तर फुसको छाना विस्थापन गर्ने सङ्घीय सरकारको कार्यक्रम आएपछि भने विगत तीन वर्षदेखि आगलागीको घटनामा कमी आएको स्थानीय जन प्रतिनीधिको भनाइ छ ।

यस वर्ष बाँकेमा दुई हजार २३६ घरमा टिनको छाना लगाइने भए पनि यस कार्यक्रमका अपेक्षी नागरिक भने धेरै छन् । बाँकेको नरैनापुर गाउँपालिका–४ खोदावामा करीब पाँच वर्ष पहिले एक घरबाट सल्किएको आगोले पूरै बस्ती नै खरानी पारेको थियो । उक्त आगलागी सम्झिँदै स्थानीयवासी होली यादवले भने, “नरैनापुरले भोगे जस्तो केही वर्ष पहिलेसम्म बाँकेको राप्तीपारि क्षेत्रका अधिकांश बस्तीले भोग्नुपरेको थियो ।” उनले भनेजस्तै आगलागी हुने मुख्य कारण थियो, फुसका घर । प्रायः पुसको महिनापछि आगो ताप्ने, सुक्खा हावा चलिरहने हुँदा खाना पकाउँदापकाउँदै पनि आगलागी हुने गरेको थियो ।