सुदूरपश्चिम

खप्तड पर्यटन विकास समितिमा पदाधिकारी नियुक्त

१३ माघ, डोटी / अध्यक्ष तथा कार्यकारी निर्देशक रिक्त रहेको सुदूरपश्चिम प्रदेशको खप्तड पर्यटन विकास समितिमा हालै मात्र नयाँ अध्यक्ष तथा कार्यकारी निर्देशक नियुक्त भएका छन् । अध्यक्ष तथा कार्यकारी निर्देशक रिक्त रहेको कम्तीमा पनि चार वर्षपछि नयाँ नियुक्त गरिएको हो । खप्तड पर्यटन विकास समितिमा अध्यक्ष तथा कार्यकारी निर्देशक नियुक्त नहुँदा विकास निर्माणदेखि खप्तड पर्यटनको प्रचारप्रसारमा समस्या हुँदै आएको थियो । अध्यक्ष तथा कार्यकारी निर्देशक नियुक्त भएसँगै अब खप्तड क्षेत्रको विकास तथा प्रचारप्रसारमा फलदायी हुने यहाँका स्थानीयवासीको विश्वास छ ।
खप्तड क्षेत्र पर्यटन विकास समितिका नवनियुक्त अध्यक्ष हर्कबहादु सिंह र कार्यकारी निर्देशक भीमबहादुर खड्काले आफ्नो पदभार ग्रहण गरेका छन् । जिल्ला सदरमुकाम सिलगढीको नाचनथलीमा रहेको समितिको कार्यालयमा दुवैले आज पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेपछि अध्यक्ष सिंहले खप्तड क्षेत्र पर्यटन विकास समितिमा हालसम्म भए गरेका कामको अध्ययन गरी श्वेतपत्र जारी गर्ने, खप्तडलाई सुदूरपश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नेपालभित्र र नेपाल बाहिरका मानिसले पनि खप्तड घुम्न आउने गरी प्रचारप्रसार गर्ने, भौतिक सुविधाको विकास गर्नेलगायत कामको थालनी गरिने बताए । उनले भने, “हामीले पदभार सम्हाली सकेका छौँ, अब खप्तड क्षेत्रको देश विदेशमा थप चिनाउने काममा व्यस्त हुने छौँ ।” खप्तडको विकासका लागि विभिन्न सरकारी तथा अन्य निकायबाट सम्भावित स्रोतको खोजी गरी खप्तड घुम्न आउने पर्यटकलाई भ्रमण सहज हुने गरी पूर्वाधार विकास गर्नमा आफू लागि पर्नेसमेत अध्यक्ष सिंहले जानकारी दिए ।
यसैगरी नवनियुक्त कार्यकारी निर्देशक भीमबहादुर खड्काले पर्यटन भनेको गरिबी निवारणको महत्वपूर्ण पाटो भएकाले आफू त्यसैमा बढी केन्द्रित भएर लागि पर्ने वचनबद्धता दिए । आफूले पाएको जानकारीअनुसार यसपूर्व खातामा रहेको रु १६ लाख र सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको रु तीन करोड बजेट चालु आर्थिक वर्ष २०७७÷२०७८ भित्र खर्च गरिने निर्देशक खड्काले जानकारी दिए । आफूले अब सबैभन्दा पहिले खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालयको बेवसाइट निर्माण गरी त्यसमा खप्तड जाने खाकासहित जिआइएस राखिने र अनलाइन डाटा राखिने बताए । खप्तडको विकासका लागि सर्वपक्षीय सहभागितामूलक योजना निर्माण, सहभागितात्मक कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन र अन्त्यमा त्यसको सिकाइमा केन्द्रित हुने गरी काम गरिने निर्देशक खड्काको भनाइ छ । खासगरी राज्यमा राजनीतिक एवं सरकार सञ्चालनमा उथलपुथल नभएमा आफूले राम्रो काम गरेर देखाउने अध्यक्ष सिंह र निर्देशक खड्काले प्रतिबद्धता जनाए ।