पु.समाचार

प्रधानमन्त्री ओली बिरुद्ध सर्बाेच्चमा दर्ता भए दुईवटा अवहेलना मुद्धा

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध सर्बाेच्च अदालतमा दुईवटा अवहेलना मुद्धा दर्ता भएका छन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति ओलीले निन्दायुक्त अभियुक्त दिएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्च पुगेका थिए तर सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै यसअघि दर्ता गरेको थिएन ।

गत माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको भनाई छ । ओलीले कार्यक्रममा ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछ्’ भन्दै कटाक्ष गरेका थिए ।

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।