समाचार

वामपन्थी नेता कुँवरको निधन

१३ माघ, चितवन / नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।
मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टे«टलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिए ।
भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो । उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिए । उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ ।
श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।
विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । विसं २०१५ मा चितवन झर्नु भएका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सु्म्पिनु भएको थियो ।
उनलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो । जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उहाँ नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिनुभएको थियो । विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उनी जीवितहुँदै बताएका थिए ।
विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहेका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका थिए । विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर थिए । प्रशिक्षार्थीमध्ये एक हुनुहुन्थ्यो ‘प्रचण्ड’ । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता भएको बताइन्छ ।
विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका खम्बासिंह जनयुद्धकालमा भूमिगत थिए । हाल उनी पार्टीको केन्द्रीय सल्लाहकार रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए । उनका एक छोरा र चार छोरी छन्। उनी परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आएका थिए ।

दुर्घटनामा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बोर्डिङ बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नं मोटरसाईकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।