गण्डकी प्रदेश

पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत

१३ माघ, दमौली / नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको छ ।
सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार छ । टीकानिधि पुरस्कार–२०७५बाट विश्वबन्धु भण्डारी र २०७६बाट प्रदीप काफ्ले पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि जनही रु दश हजार छ । यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु दश हजार छ ।
तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएबापत उनीहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले जानकारी दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उनीहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पत्रकार शहरमुखी मात्रै हुन नहुनेमा जोड दिए ।

१७१ भायल कोभिड भ्याक्सिन

कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो । सो खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीलाई आज हस्तान्तरण गरे ।
स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिए । उनका अनुसार एक भायलबाट दश जनालाई खोप लगाउन सकिन्छ ।

दाताका भरमा आश्रम

व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।
आश्रममा हाल चार महिला र दुई पुरुषले आश्रय लिइरहेका छन् । जिल्लाकै विभिन्न ठाउँका असहाय वृद्धवृद्धालाई आश्रममा आश्रय दिइएको छ । आश्रम सञ्चालनका लागि मासिक करीब रु ३५-४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।
दाताको सहयोगले आश्रम सञ्चालनमा सहज भएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमका सचिव निर्मला मल्लले जानकारी दिए । “व्यक्तिहरुले जन्मदिन, पुण्यतिथिलगायत अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगको कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, मल्लले भने । विभिन्न पेशा –व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको मल्लले बताए ।
तीस महिलाबाट शुरु भएको आश्रममा अहिलेको सदस्य सङ्ख्या ३३० पुगेको छ । असहाय एवं आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको मल्लले जानकारी दिए ।
स्थापनाकालमा ३० महिलाले रु एकएक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गरको थिए । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायत सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमका कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिए । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ,” उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”
उनका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरीद गरी भवन निर्माण गरेको छ । विसं २०७२ आयोजित महायज्ञबाट सङ्कलित रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरीद गरी भवन निर्माण गरिएको छ ।
व्यास नगरपालिका–११ मूलपानीकी विमला भट्टराई आश्रममा बस्न थालेको पाँच वर्ष भयो । आश्रममा बस्दा उनीलाई घरपरिवारमै बसे जस्तो अनुभूति हुन्छ । “विविध कारणले आश्रममा आइपुगेँ, यहाँ बस्दा आफ्नै घरपरिवारमा बसे जस्तै अनुभूति हुन्छ,” उनले भने, “हामी जस्ता वृद्धवृद्धाका लागि यो आश्रम वरदान सावित भएको छ ।”

बेल्जियमबाट रु एक लाख सहयोग

म्याग्दे गाउँपालिका थर्पु निवासी पदम गुरुङ र उनकी धर्मपत्नी मीराले आश्रमका लागि रु एक लाख सहयोग गरेका छन् । हाल बेल्जियम बस्ने गुरुङ दम्पतीले आश्रम सञ्चालनमा सहयोग पु¥याउन रु एक लाख सहयोग गरेको हो । दिदीबहिनी सक्रिय भएर सामाजिक सेवामा लाग्दा र आफूले सहयोग गर्न पाउँदा खुशी लागेको गुरुङले बताए । गुरुङले यस अगाडि पनि आश्रमलाई रु १५ हजार सहयोग गरिसकेका छन् । बेल्जियमबाट पनि आगामी दिनमा थप सहयोग गरिने। गुरुङले प्रतिबद्धता जनाए ।