पु.समाचार

ओली सरकार बिरुद्धको आन्दोलनलाई थप शसक्त बनाउन कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बस्दै

१३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न सकेको थिएन । उक्त दिन डाकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते  आज दिनको १ बजे बस्ने भएको छ,’ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय कार्यसमितिले शुरु गरेको हो । यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, सम्पूर्ण स्थानीय तह र वडा तहमा सरकारको कदमको विरोध गरिसकेको छ ।

काँग्रेसले औपचारिक रुपमा प्रतिनिधि सभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन ।

सभापति शेरबहादुर देउवा अदालतमा विचाराधीन मुद्दामा काँग्रेसले नबोल्ने परम्परा रहेको बताउँदै आएका छन् भने उनी इतरका नेताहरुले अदालतलाई दबाव दिनुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनै पर्ने अडानमा रहेका छन् । आजको केन्द्रीय समितिमा सडक आन्दोलन चर्काउने विषयमा छलफल चल्ने बताइएको छ ।