राजनीति

संसद बिघटन बिरुद्ध दाहाल-नेपाल समुहले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा

१२ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शमाए ओलीले गरेको संसद बिघटनका बिरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रिएको उक्त समुहले काठमाडौंमा बृहत प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्र घोषणा गरेको हो ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले आज पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । घोषित कार्यक्रम अनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा समेत सहभागी हुनेछन् ।

यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा सभा गर्ने र शीर्ष नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिले जनाएको छ । २२ गते काठमाडौंमा युवार्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिएकी छिन् ।

दाहाल–नेपाल समूहले ९ गते पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो । यो प्रदर्शनले तरंग ल्याएको अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

प्रदर्शनमा सहभागी हुन प्रदेश २ बाट आएका अगुवा नेता कार्यकर्तालाई आज पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीको टाउकोमा हान्नुपर्ने स्थिति आएकाले काठमाडौंमा सभा गरेको बताएका छन् । यद्यपि त्यो दिन प्रदेश २ को प्रतिनिधित्व गर्ने नेतालाई सम्बोधन गर्न दिन नसक्नु कमजोरी भएको बताएका छन ।

२८ माघमा हुने प्रदर्शन अझ ठूलो हुने र सिंगो देशलाई काठमाडौंमा उतार्ने उनले दाबी गरेका छन् । ओलीले संसद बिघटन गरेपछि नेकपा दुई भागमा विभाति भएको छ । एक समुहको नेतृव्त दाहाल–नेपालले गरेका छन् भने अर्काे समुहको नेतृत्व स्वयंम प्रधानमन्त्री ओलीले गरेका छन् ।