पु.समाचार

सञ्चारमाध्यमले योग र ध्यानका समाचारलाई प्राथमिकता दिनुपर्छ’

११ माघ, काठमाडौँ । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले सञ्चारमाध्यमले योग र ध्यानका समाचारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । न्युज लाइन्स मिडियाको चौथो वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उनले योग र ध्यान नेपाली संस्कृति भएकाले यसको संरक्षणमा सञ्चारमाध्यम लाग्नुपर्ने बताए ।

उनले भने, “योग र ध्यानको आकर्षण संसारमा बढेको छ, बुद्ध जन्मथलो नेपालमा योग र ध्यानको विशेष महत्व छ, बुद्धको जन्मथलो नेपाललाई ध्यानको राजधानी बनाउनुपर्छ ।” विश्वमा ३० करोड जनसङ्ख्या योग र ध्यानमा लागेको उनको भनाइ छ । कोरोनाले योग र ध्यानलाई अझै व्यापकता दिएको उनले बताए । विसं २०३६ देखि नेपालमा योग दिवस मनाउन प्रस्ताव गरे पनि २० वर्षपछि मात्र मनाउन थालिएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले अनलाइन पत्रकारिता चुनौतीपूर्णरुपमा अगाडि बढेको बताए । सरकारले अनलाइन मिडियालाई नियन्त्रण गर्न खोजेको उनको आरोप थियो । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोभिड–१९ ले थलिएको नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपाली सञ्चार क्षेत्रले सकारात्मक सोचका साथ समाचार प्रसारण गर्नुपर्ने उल्लेख गरे । “नेपाली पत्रकारितामा सक्षम व्यक्ति आएका छन्, अनलाइन मिडिया नेपाली पत्रकारितामा सफल भएको छ”, उनले भने । नेपाली पत्रकारिता क्षेत्रमा भएको विकृति र विसङ्गतिलाई सुधार्दै लैजानुपर्ने उनको भनाइ थियो ।

सोही अवसरमा कृषि वैज्ञानिक डा हरिकुमार श्रेष्ठ, पर्यटन व्यवसायी जगतबहादुर गुरुङ, समाजसेवी भावना केसी, हरि कार्कीलगायत १४ जनालाई सम्मान गरिएको थियो । सम्मानीत व्यक्तिका तर्फबाट कृषि वैज्ञानिक डा श्रेष्ठले कृषि क्षेत्रलाई प्राथमिकतामा समाचार लेख्न आग्रह गरे । न्युज लाइन्स मिडियाका प्रबन्ध निर्देशक गीता ढकालले देशभित्रको विकृति–विसङ्गतिको अन्त्य गर्दै मुलुकको आर्थिक विकासका लागि आफ्नो अनलाइनले निरन्तर खबरदारी गर्र्दै आएको उल्लेख गरे ।