कर्णाली प्रदेश

कोरोना देखिएपछि तीन विद्यालय बन्द

११ माघ, सल्यान / शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो ।
नगरपालिकाका प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको वनगाड कुपिण्डेका नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिए । ती विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको नगर प्रमुख पुनले बताए । तीनै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुन सक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको छ ।
शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने पुनले बताए ।
कोरोना देखिएकालाई होम आइसोलेशनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।