अन्तर्राष्ट्रिय

जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउने बारे छलफल

११ माघ, लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तन समेतका जल्दाबल्दा मुद्दाहरुको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति भएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच पहिलो पटक भएको कुराकानीमा यस्तो सहमति जुटेको हो ।
प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुबै देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाईमा पु–याउन कुनै कसर बाँकी नराखिने बताएका थिए ।
बेलायती अखबारहरुले बाइडेनले फोन सम्पर्क गर्नु भएका युरोपका नेतामध्ये बेलायती प्रधानमन्त्री जोन्सन पहिलो युरोपेली नेता रहेको बताएका छन् । बाइडेनले यसअघि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गरेका थिए ।
यसअघि सन् २०१९ मा राष्ट्रपति बाइडेनले चुनावी प्रचारका क्रममा जोन्सनमाथि व्यंग्य गर्दै उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको छायाँको रुपमा रहेको बताएका थिए ।
फोनवार्ताका क्रममा प्रधानमन्त्री जोन्सनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री जोन्सनले जलवायु सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठन डब्लुएचओमा अमेरिकाको पुनः प्रवेशका लागि बाइडेनले लिएको निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गरे ।