प्रदेश 1

गढीको पर्यटन विकास पुनः सञ्चालन

११ माघ, उदयपुर / ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको मध्यपहाडी क्षेत्रमा अवस्थित उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीमा कोभिड–१९ को प्रभावले झण्डै एक वर्षसम्म रोकिएको पर्यटन तथा भौतिक विकासको कार्य पुन शुरु गरिएको छ ।
जिल्लाकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको उदयपुरगढीलाई आन्तरिक पर्यटन विकासको पूर्वाधार निर्माणको काम अगाडि बढाइएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताए । डाँडामा गाउँपालिकाको रु ३० लाख बजेटको लगानीमा निर्माण भइरहेको ४० फिट अग्लो दृश्यावलोकन स्तम्भ निर्माणको बाँकी कार्य अहिले सम्पन्न गरिसकिएको उपाध्यक्ष राउत बताउछन् । गढिडाँडा क्षेत्रमा खानेपानी विस्तारको लागि स्थानीय जोगीधाराबाट लिफ्टिङ गरेर खानेपानी विस्तार गर्ने कार्य पुनःसुचारु गरिएको र अब चाँडै गढीडाँडाका घरघरसम्म पानी पु¥याउन लागिएको छ ।
सोका लागि गाउँपालिकाबाट मात्र झण्डै रु २० लाख बजेट विनियोजन गरिएको थियो भने सोही बजेटबाट बाँकी कार्यसमेत पूरा हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नौ वडामध्ये पाँच वडामा विद्युत् विस्तार भइसकेको र बाँकी चार्डवाडमासमेत अहिले तीव्र रुपमा विद्युत् विस्तार गर्ने कार्य भइरहेको छ । चैत महिनासम्ममा गाउँपालिकाका नौ वडामा नै बिजुली बलिसक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नेपालटार बजारको मदन भण्डारी मार्ग खण्डदेखि उदयपुरगढीसम्मको नौ किलोमिटर कच्ची सडकलाई कालोपत्र गर्नका लागि सडक विभागसँग सम्झौता भई डिपिआरसमेत तयार भइसकेको बताइएको छ ।
अहिले उदयपुरगढी क्षेत्रमा झण्डै डेढदर्जन घरवासका रुपमा सञ्चालन गरिएको भए पनि पर्याप्त खानेपानी नहुँदा घुम्न आउने पर्यटकका लागि व्यवस्थापन गर्न समस्या हुने गरेको घरवास सञ्चालक विष्णु धमला बताउछन् ।
विगतमा आन्तरिक पर्यटनमा पछाडी परेको उदयपुरगढीमा दृश्यावलोकन स्तम्भ निर्माण भइसकेको, गढीडाँडासम्म अहिले तीव्र रुपमा विद्युत् विस्तार भइरहेको, खानेपानी समस्या समाधान हुन लागेको र सडक कालोपत्र गर्ने कार्य पनि शुरु हुन लागेका कारण गढीको आन्तरिक पर्यटन विकास अब नयाँ युगमा प्रवेश गर्ने आफूहरुको अपेक्षा रहेको गढीका ६७ वर्षीय मोतीप्रसाद खतिवडा बताउछन् ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर भन्छन्, “विगतका दिनमा गढी घुम्न आएका पर्यटकले पर्याप्त पानी नपाउँदा होमस्टेमा बास बस्न मान्दैनथे र सामान्य घुमफिर गरेर तल नेपालटारतिर बास बस्न झर्ने गरेका थिए, अब छिट्टै गढीमा पानी, विद्युत्को समस्या समाधान हुन लागेका कारण यस क्षेत्रमा घुम्न आएका पर्यटक गढीमानै बस्न सक्छन् ।”