स्वास्थ्य

तीन करोड ठगीको आरोपमा ओलम्पिया स्कूलका सञ्चालक खड्का र महर्जन पक्राउ

१० माघ, काठमाडौं । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई आज काठमाडौँबाट पक्राउ गरेको छ । उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि  दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।
उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिय पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ ।