समाचार

‘विप्लव’ नेकपाका मोरङ जिल्ला इञ्चार्ज पक्राउ

८ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक छन् ।

उनलाई मोरङको बूढीगंगा गाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि गत मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ । प्रहरीका अनुसार हत्या आरोपमा समेत विक प्रतिवादी हुन् ।

हालसम्म हत्य आरोपमा कोही पनि पक्राउ परेका थिएनन् । हत्याको जिम्मेवारी भने विप्लव नेकपाले लिएको थियो ।

आफ्नो पार्टीविरुद्ध सुराकी गरेको आरोपमा सो समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो । तर, शिक्षक श्रेष्ठ सुराकी नभएको प्रहरीले बताउँदै आएको छ ।

उनको साथबाट एकथान सेमि अटोमेटिक पोस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले व्यवसायीहरुलाई धम्क्याएर चन्दा असुली गरेको समेत पाइएको प्रहरी दाबी छ ।