खेलकुद

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

८ माघ, काठमाडौं । राष्ट्रिय महिला लिगमा आज शुक्रबार दुई खेल हुँदैछन् । हिजोबाट सुरु लिगको दोस्रो दिन आज शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा विराटनगर नगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जा भिड्दैछन् ।

पहिलो खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा बिहान साढे ११ बजे हुनेछ । दोस्रो खेल सोही मैदानमा साढे २ बजेदेखि सुरु हुनेछ । लिगको उद्घाटन खेलमा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। १ महिना चल्ने लिगको उद्घाटन र समापन खेल भने दशरथ रगंशालामा हुनेछ ।

लिगमा चारवटा नगरपालिका र ३ विभागीय गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुने टोलीले ५ तथा चौथो टोलीले ३ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र हरेक विधाका उत्कृष्ट खेलाडी (स्टाइकर, मिल्डफिल्डर, डिफेन्डर, गोलकिपर) र प्रशिक्षकले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।