पु.समाचार

भारतले उपलब्ध गराउने कोरोना बिरुद्धको खोप आज नेपाल आईपुग्दै

८ माघ, काठमाडौं । भारतले उपलब्ध गराउने काेरोना बिरुद्धको भ्याक्सिन आज काठमाडौं आईपुग्ने भएको छ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आउन लागेको हो । भारतबाट आउने उक्त खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई मात्रा दिइन्छ । स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्माका अनुसार १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।