कर्णाली प्रदेश

डाँडाफया स्वास्थ्यचौकीमा मेसिन जडान

७ माघ, डोल्पा / हिमाली जिल्ला हुम्लाको दुर्गम स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा बेबी रेडियन्ट वार्मर मेसिन जडान गरिएको छ । सिमकोट गाउँपालिका–७ मा रहेको डाँडाफया स्वास्थ्यचौकीमा सो मेसिन जडान गरिएको छ । स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा चिसो अत्यधिक हुने हुम्लामा जन्मने नवजात शिशुको तापक्रम व्यवस्थापन गर्न मङ्लबार सो मेसिन जडान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले जानकारी दिए ।
जिल्ला अस्पतालपछि पहिलो पटक चारवटा बर्थिङ सेन्टरमा यो मेसिन जडान शुरु गरिएको हो । तीन वडाका स्वास्थ्यचौकीमा जडान काय भएको छ भने वडा ८ मा बाँकी छ । मेसिन जडानसँगै अब नवजात शिशुको तापक्रम व्यव्यवस्थापन गर्न सहज हुने भएको गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताए । यसभन्दा अघि सिमकोट वडा दुई ठेहे, वडा तीन बरगाउँ, स्वास्थ्यचौकीका बर्थिङ् सेन्टरमा यो मेसिन जडान गरिएको संयोजक बोहराले जानकारी दिए ।
यी मेसिन जडानपछि प्रसूति गृहमा जन्मने नवजात शिशुलाई शिताङ हुनबाट बचाउने, न्यानो राख्ने, कम जन्म तौल भएका बच्चालाई अन्य जटिलताबाट बचाउन सहयोग पुग्ने छ । यसबाट नवजात शिशुको मृत्युदरमा कमी आउने विश्वास गाउँपालिकाले लिएको छ । यसका लागि गाउँपालिकाले आफ्नै स्रोतबाट खरीद तथा ढुवानीमा रु १२ लाख खर्चेको छ । गाउँपालिकाले मेसिन मङ्गलबार जडान गरेपछि पहिलो पटक स्वास्थ्यचौकीमा जन्मिएका बच्चालाई यो मेसिनमा राखिएको छ ।