प्रदेश 1

कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

बनियानी, ७ माघ । झापाको भद्रपुर-५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा  १२ लाख बराबरको क्षति भएको छ ।

मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो ।

आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।