अन्तर्राष्ट्रिय

उच्च सुरक्षाकाबिच वाईडनले आज यसरी लिँदै छन् सपथ !

७ माघ, एजेन्सी । उच्च सुरक्षाकाबिच नवनिर्वाचित राष्ट्रपति वाईडनले आज सपथ लिँदै छन् ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले (आज) शपथ लिँदैछन् । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ ।

शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्‍तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो । केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथग्रहण समारोहअगाडि हिंसा हुन सक्ने बताउँदै आएको छ ।

अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ। ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ ।

सबै राज्यका संसद् भवनमा सुरक्षा सतर्क राखिएको छ । वासिङटन डीसीका मेयर मुरियल बाउजरले अन्तर्वार्तामा भने, ‘प्रहरी विभागले संघीय संस्था र अमेरिकी सेनासँग मिलेर काम गरिरहेको छ ।

शप-थग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ । बाइडनको शपथ ग्रहणमा पनि सेनाले परम्परालाई निरन्तरता दिनेछन् । बाइडनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ । शपथ ग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्ने बताइएको छ ।

शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहने बताइएको छ । यसैगरी जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेकले पनि प्रस्तुति दिने बताइएको छ ।