पु.समाचार

सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि आह्वान

५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गरेका छन् ।
विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उनीहरुले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सामेल हुन सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई आह्वान गरेका छन् ।
“हामी संविधान मान्छौंँ, लोकतन्त्र मान्छौंँ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतालगायत सम्पूर्ण नागरिक अधिकार जनताले निर्बाध रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । शक्तिपृथकीकरणको सिद्धान्तलाई हाम्रो संविधानले आत्मसात् गर्दै स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको छ । न्यायपालिकाको स्वतन्त्रतालाई हामी सबैले सम्मान गरेका छौँ”, दाहाल–नेपालद्वारा जारी अपिलमा भनिएको छ, “सर्वोच्च अदालतमाथि हाम्रो विश्वास छ तथापि वर्तमान अवस्थामा जे–जस्ता परिदृश्यहरु देखापरेका छन्, त्यसले अदालत र हामी सबै सजग रहनुपर्ने अवथा उत्पन्न गराएको छ ।”
अदालतको संविधानसम्मत फैसलाले नेपालको लोकतन्त्रलाई सही मार्गमा अग्रसर गराउने र संविधानलाई सक्रिय पार्ने विश्वास गर्दै उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानसम्मत फैसला दिने विश्वास व्यक्त गरेका छन् ।