आर्थिक

धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुने

५ माघ, काठमाडौं । तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको हो ।
उक्त व्यवस्थासम्बन्धी जानकारी दिँदै सिडिएससीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट संशोधित विनियमावलीअनुसार कारोबार भएको दिनबाहेक दुई कार्य दिनमा हुने व्यवस्था गरिएको छ ।
धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने विश्वास लिइएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
दुई कार्य दिनभित्र कारोबारलाई राफसाफ गर्नका लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ को उपविनियम १३ लाई संशोधन गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो ।
बोर्डले गत पुस २४ गते उक्त विनियमवाली स्वीकृत गरेको थियो । सिडिएससीको सञ्चालक समितिको निर्णयानुसार माघ ११ गतेदेखि लागू हुने व्यवस्था गरेको छ ।