पु.समाचार

नागरिक एप्स’ बारे सुझाव दिन मन्त्री गुरुङको आग्रह

५ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परीक्षणका रुपमा रहेको ‘नागरिक एप्स’ मा सुधार्नुपर्ने पक्षहरुबारे सार्वजनिक सुझाव दिन आग्रह गरेका छन् । मन्त्री गुरुङले आज सार्वजनिक आह्वान गरी सो एप्समा भएका सुविधामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाबारे सुझाव दिन आग्रह गरेका छन् । उनले ‘डिजिटल नेपाल अभियान’ हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन सो एप्स एक महत्वपूर्ण कडी साबित हुने बताए ।

नेपाल सरकारको राष्ट्रिय गौरवको कार्यक्रम रहेको सो एप्स मन्त्री गुरुङले गत शुक्रबार परीक्षण शुभारम्भ गरेका थिए । यसमा हाल नागरिकका स्थायी लेखा नम्बर, नागरिकता, शैक्षिक विवरण, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, ‘हेल्लो सरकार’ आदि सेवा क्षेत्रका विवरण समावेश गरिएको छ ।

विभिन्न सरकारी सेवा लिन घन्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले अनलाइनबाट सहजै सेवा दिन यो कार्यक्रम अघि सारेको हो । आज दिउँसोसम्म सो एप्सलाई दुई लाख ३८ हजार ८०६ जनाले डाउनलोड गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सो एप्सलाई अधिकतम् उपयोग गर्न यसअघि सार्वजनिक आह्वान गरेका थिए ।