सुदूरपश्चिम

टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण

५ माघ, भजनी । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ । टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले संयुक्त रुपमा अस्पताललाई शव वाहन हस्तान्तरण गरेका हुन् ।

समूहका संयोजक सञ्चारकर्मी प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउदले शव वाहनको साँचो अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई आइतबार हस्तान्तरण गरेका छन् । सो अवसरमा संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकामा खुशी लागेको र आगामी दिनमा टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष रावलले शव वाहन खरिद गरी हस्तान्तरण गरेकामा दुवै संस्थालाई धन्यवाद दिँदै स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको औल्याए ।

टीकापुर क्षेत्रमा शव वाहन नहुँदा समस्या हुँदै आएको थियो । अब भने पहिलेको जस्तो ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यताको अन्त्यभएकोे छ ।