आर्थिक

बैँकिङ कसुरमा संलग्न तीनजनालाई सिआईबीद्वारा पक्राउ

४ माघ, काठमाडौं । बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौँको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ ।
झण्डै तीन करोड ३२ लाख ठगी गरेको प्रमाणित भई उच्च अदालत पाटनबाट कैद र जरिवाना तोकिएर फरार हुँदै आएकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालतमा पेश गरिएको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुमध्ये अधिकारीलाई आज, थापालाई शनिबार र अम्गाईंलाई बिहीबार पक्राउ गरिएको थियो ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउ गर्ने क्रममा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक दिएका थिए । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ ९१० बमोजिम उनीहरुलाई सजाय सुनाइएको थियो ।