स्वास्थ्य

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

४ माघ, काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ ।

देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिँडेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले अभियानका २०० अभियानकर्मीका लागि निःशुल्क गुर्जोबाट बनेको धुलो औषधि र चियाका प्याकेट वितरण गरेकाे हो । अभियानकर्मीलाई २०० प्याकेट चिया र २०० प्याकेट धुलो औषधि वितरण गरिएको उनले सुनाए ।

राजश्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जो रोपेर कोरोना महामारी फैलन थालेपछि उन देशव्यापी रुपमा निःशुल्क वितरण गर्दै हिँडेका छन् ।

यसैगरी समाचार संस्था राससमा पनि अभियानकर्मी राजलवटले शनिबार गुर्जोको धुलो र चिया वितरण गरेका छन् । गुर्जोका विषयमा सामान्य जानकारी समेत दिँदै निःशुल्क वितरण गर्ने अभियान गत वैशाखदेखि जारी छ । गुर्जोका बिरुवा भने हाल रोप्न बेमौसम हुने कारणले वितरण गरिएको छैन । फागुनपछि बिरुवासमेत रोप्नका लागि वितरण गरिने जनाइएको छ । निःशुल्क गुर्जो वितरण अभियानमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी र जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीलेसमेत साथ दिँदै आएका छन् ।

हालसम्म एक लाख ५० हजार भन्दा बढी गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरिएको राजलवटले बताए । बिरुवासँगै गुर्जोबाट बनेको धुलो औषधि र चियासमेत वितरण गरिएको छ । एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताए ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणलेयुक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणयुक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन ।

कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूला धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।

उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिबार र बिदाका दिन छट्टी नमनाएर अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँडे । माग गर्ने जतिलाई निःशुल्क गुर्जोका बिरुवा दिन तयार रहेको उनले सार्वजनिक घोषणा गर्र्दै आएका छन् ।

आधुनिकतासँगै मानिसले बिर्सँदै गएका गुर्जोजस्ता सयौँ वनस्पतिका बारेमा खोज अनुसन्धान गरी त्यसबाट हुने फाइदाका बारेमा प्रचारप्रसार गरिनुपर्ने माग पनि अभियानकर्मीले गरेका छन् । गुर्जोका परिकार गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकालाई सेवन गर्न निषेध गरिएको छ ।