गण्डकी प्रदेश

घरेलु महासङ्घमा नयाँ नेतृत्व

४ माघ, दमौली / नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासङ्घको २१औँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमुरारी मिश्र र सदस्यमा सीता खनाल, निरु भुजेल, शान्ति कुँवर, सीता अधिकारी, धनमाया राना, हर्षमान श्रेष्ठ साइराम, धनमाया पौडेल, सरु कुमाल, विष्णुकुमार श्रेष्ठ, पार्वती महत, रन्जु थापा श्रेष्ठ, सङ्गीता उचाइ चयन भएका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, रोहिणीराज लौडारी, मछिन्द्रादेवी श्रेष्ठ र रामजी लौडारी चयन भएका छन् ।

महिला उद्यमीमा कल्पना

अधिवेशनबाट महिला उद्यमी विकास समितिको अध्यक्षमा कल्पना गौली सर्वसम्मत निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी रानाभाट, उपाध्यक्षमा सपना श्रेष्ठ, महासचिवमा सिर्जना कोइराला, कोषाध्यक्षमा धनमाया पौडेल र सदस्यमा जानकी थापा, कल्पना थापा, खिरमती मगर, तुलसी साह, धनमाया राना, शर्मिला विक, विमला श्रेष्ठ र भवि दुरा चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा वसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ चयन भएका छन् ।

थप ६ सडक सहयोगीपेक्षीको उद्धार

सडकमा कष्टकर जीवन बिताइरहेका थप छ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाका छ जनाको उद्धार गरिएको हो । व्यासका एक, म्याग्देका चार र घिरिङका एक जनाको उद्धार गरिएको छ ।
सहाराविहीन अवस्थामा सडकमा जीवन बिताइरहेकाहरुलाई मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो । डिसु नेपालको सहयोगमा आश्रमले उनीहरुलाई उद्धार गरेको डिसु नेपालका अध्यक्ष नोमा थापाले जानकारी दिए । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची–महाकाली उद्धार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिए ।
यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ”, उनले भने । यसअघि मानव सेवा आश्रमले तनहुँबाटै नौ जनाको उद्धार गरिसकेको छ । व्यास नगरपालिकामा पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार जनाको उद्धार गरिएको थियो ।