पु.समाचार

परराष्ट्रमन्त्री नयाँदिल्लीमा

१ माघ, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।
मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् ।
यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । त्यसअवसरमा उहाँहरुबीच नेपाल–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।