सुदूरपश्चिम

सुदूरपश्चिममा थप १४८ जनामा कोरोना सङ्क्रमण

२९ पौष, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा थप १४८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो हप्तामा कोभिड–१९ का शङ्कास्पद एक हजार ४१८ जनाको नमूना परीक्षण भएको छ । यो अवधिमा थप एक हजार ४६ शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भएको छ ।

यो हप्तामा थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अहिलेसम्म जम्मा मृत्यु हुनेको सङ्ख्या ५४ पुगेकामा सबैभन्दा बढी मृत्यु हुने प्रदेशको राजधानी जिल्ला कैलालीका २९ जना छन् । एक महिनाअघिसम्म शङ्कास्पदको नमूना सङ्कलन हुने दर योभन्दा बढी थियो । लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको जनाइएको छ ।

कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नयाँ थपिएकासमेत आजसम्म जम्मा १३ हजार ८७६ जना सङ्क्रमित पुग्दा १२ हजार १३९ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।