समाचार

भूकम्प सुरक्षा दिवस थिमीमा मनाइने

२९ पुस, काठमाडौँ / यसपालि सरकारले केन्द्रीयस्तरको भूकम्प सुरक्षा दिवस भक्तपुरको थिमिमा मनाउने भएको छ । गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको निर्णयअनुसार माघ २ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दिवस मनाउन लागिएको हो ।
उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । यस वर्ष दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ तय गरिएको छ । भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ को व्यवस्थाबमोजिम उक्त नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र शहरी विकार तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
तेइसौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले देशव्यापीरुपमा स्कूलस्कूलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुरोध गरेको छ । यस्तै प्रदेशस्तरमा दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकास्तरमा दिवस मनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । जिल्लामा भूकम्प सुरक्षा दिवस मनाउन प्राधिकरणमार्फत परिपत्र गरिसकिएको उनले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषबाट रु १५ हजारका दरले उपलब्ध गराउने निर्णय भइरहेको छ । दिवसमा केन्द्रीयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त कोषबाट रु चार लाख भूकम्प प्रविधि राष्ट्रिय समाजलाई उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ ।
उक्त दिवसका अवसरमा नमूना अभ्यास, तालीम, उद्धार सामग्री वितरण, रक्तदान, सन्देशमूलक सामग्री प्रसारण, चेतनामूलक प्रहसन, नाटकजस्ता विषय छनोट गर्न सम्बन्धित प्रशासन कार्यालयलाई भनिएको छ । समितिले दिवस सफल बनाउन नगरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र सामुदायिक संस्थालाई आह्वान गरेको छ । भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले दिवसमा सक्रिय सहभागिताका लागि साझेदार संस्थालाई अनुरोध गरेको छ ।