बाग्मती

देवघाट स्नानका लागि निःशुल्क जलयात्रा

२९ पुस, नवलपुर / पवित्र तीर्थस्थल देवघाटधामको वेणी सङ्गममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि निःशुल्क जलयात्राको व्यवस्था गरिएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका हुँदै वेणी सङ्गममा स्नानका लागि आउने तीर्थयात्रीका लागि निःशुल्क ¥याफ्टिङ बोटको व्यवस्था गरिएको हो ।
वडा नं ३ ले वेणीमा स्नान गर्न जाने तीर्थयात्रीलाई निःशुल्क कालीगण्डकी नदी तर्ने व्यवस्था गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए । “माघे सङ्क्रान्तिमा गैँडाकोटको शिलान्यास चोक हुँदै वडा नम्बर ३ को केलादीघाटदेखि वेणीमा स्नानका लागि जाने तीर्थयात्रीका लागि यस वर्ष निःशुल्करुपमा नदी तर्ने व्यवस्था गरेका छौँ”, तिवारीले भने, “चितवनतर्फबाट वेणीमा जाँदा बाटोमा भीडभाड तथा जाम हुने समस्या भएकाले नवलपरासी र पश्चिमबाट आउने तीर्थयात्रीलाई हामीले नवलपरासीबाटै वेणी जाने व्यवस्था गरेका हौँ ।”
वडा नं ३ बाट देवघाटको वेणी सङ्गममा जानका लागि कालीगण्डकी नदी तर्नुपर्ने भएकाले निःशुल्क ¥याफ्टिङ उपलब्ध गराइएको तिवारीको भनाइ छ । अघिल्ला वर्षहरुमा वेणीमा पुगेर माघे सङ्क्रान्ति स्नानमा समस्या भएर तीर्थयात्री फर्किनुपरेको गुनासो आएपछि यस पटक वडा कार्यालयले नदी तर्ने व्यवस्था गरेको उनले बताए । नवलपरासीको बाटो भएर सिधै वेणी सङ्गममा जानका लागि गैँडाकोटको शिलान्यास चोकबाट ब्रिटिस क्याम्प हुँदै केलादीघाटमा पुग्न सकिने वडाध्यक्ष तिवारीले जानकारी दिए ।
देवघाटधाम नवलपरासी, चितवन र तनहुँको सिमानामा पर्ने भए पनि चितवन र तनहुँको तुलनामा नवलपरासीतर्फको क्षेत्र ओझेलमा परेकाले यसको प्रचारप्रसारका लागिसमेत नयाँ योजना अगाडि बढाइएको तिवारीले बताए ।
अघिल्ला वर्षहरुमा देवघाट धाममा माघेसङ्क्रान्ति स्नानका लागि एक लाखभन्दा बढी तीर्थयात्री आउने गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । देवघाटमा स्नानका लागि नवलपरासी, चितवन, तनहुँसहित देशका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका घिमिरेको भनाइ छ ।