सुदूरपश्चिम

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको कम्बल कोसेली

२९ पुस, बझाङ / चिसो बढ्दै गएपछि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल कोसेली दिएको छ । खप्तड छान्ना गाउँपालिकाले ७० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई एक–एक कम्बल दिएको हो ।
गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि उनीहरु खुशी भएका हुन् । गाउँपलिकाका सात वडामा रहेका एक हजार पाँच जनालाई कम्बल कोसेली दिइएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए । उनले प्रायजसो गाउँमा जाँदा चिसोका समयमा सबै भन्दा बढी ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकाले कम्बल कोसेली दिइएको जानकारी दिए ।
अध्यक्ष रोकायाले यसका साथै ज्येष्ठ नागरिकलाइ घरघरमै गएर वर्षमा दुई पटक स्वास्थ्य परीक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताए । गएको वर्ष पनि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको थियो ।