पु.समाचार

निर्बाचन आयोगले शुरु गर्यो कम्प्युटर अपरेटरहरूका लागि सञ्चालित प्रशिक्षण कार्यक्रम

पुस २८, काठमाडौं । मतदाता नामावली अद्यावधिक (दाबी विरोध सहित) कार्यक्रम, २०७७ र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ कार्यान्वयन सम्बन्धी अनलाइन प्रविधि मार्फत जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि सञ्चालित १ (एक) दिने प्रशिक्षण कार्यक्रमको मिति २०७७ पुस २८ गते निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपले निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचनको पूर्वशर्तको रूपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्य सबै सरोकारवालाहरूसँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रूपमा सम्पादन गर्नुपर्ने कुरा बताए ।
माननीय प्रमुख निर्वाचन आयुक्तले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भए बमोजिम आयोगका गतिविधिहरूमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने कुरा व्यक्त गरे । निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पु¥याउने भएको हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी बमोजिम निर्वाचन सम्पन्न गर्न गराउनु आयोगको प्रमुख कर्तव्य भएको र यसै सन्दर्भमा निर्वाचन व्यवस्थापनको आधारभूत पक्षको रूपमा रहेको मतदाता नामावली शुद्ध र त्रुटिरहित बनाउन एवम् मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य, विवादरहित र पायक पर्ने स्थानमा मतदानस्थल निर्धारण गर्नु पर्ने कुरामा जोड दिए । विगतमा सञ्चालित निर्वाचनका लागि निर्धारण गरिएका मतदान स्थलहरूको बारेमा प्राप्त सुझावहरूको आधारमा पुनरावलोकनको कार्यक्रम ल्याइएको बताउँदै उनले कोभिडको कारणले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्दै प्रभावकारी रूपले कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण सहभागीहरूलाई निर्देशन दिए ।