शिक्षा

‘इन्जिनीयर अफ इन्जिनीयरिङ एजुकेशन’ प्रकाशित

२९ पुस, काठमाडौँ / नेपालमा इन्जिनीयरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा डा भोला थापाद्वारा लिखित ‘इन्जिनीयर अफ इन्जिनीयरिङ एजुकेशन’ अङ्ग्रेजी पुस्तक बजारमा आएको छ ।
काठमाडौँ विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा थापाले नर्वेली प्रा डा इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको पुस्तकमा काविविको इन्जिनीयरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्मको विकासलाई समेटिएको छ । पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनीयरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा योहान्सनलाई नेपाल ल्याएर काविविलाई सघाएको र मार्गदर्शन गरेको योगदानको सेरोफेरो छ ।
काविविका पूर्वउपकुलपति डा सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको जनाउँदै प्रायः इन्जिनीयरिङ र चिकित्सा विषय पढ्नेहरु अध्यापन पेशाभन्दा विकासका अन्य फाँटतिर जान चाहने क्रम विकासोन्मुख देशहरुमा मात्र नभई अन्यत्र पनि भएको जानकारी दिए ।
डा सीताराम अधिकारीले नेपालको इन्जिनीयरिङ शिक्षाको सङ्क्षिप्त ऐतिहासिक झलक पुस्तकमा पढ्न पाइने बताएका छन् । काविविका पूर्वरजिष्ट्रार प्रा डा भद्रमान तुलाधरले पुस्तकमा काविवि इन्जिनीयरिङ शिक्षाको शुरुआत, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापक, शिक्षकहरु र इन्जिनीयरका बारेमा चर्चा गरिएको बताए ।
सिन्टेफ इनर्जीका भाइस प्रेसिडेन्ट पिटर स्टोइयाले पुस्तकमा नेपालको इन्जिनीयरिङ क्षेत्रको विकासको सन्दर्भलाई सान्दर्भिक ढङ्गले उठान गरिएको उल्लेख गरे । लेखक प्राडा थापाले आफूले अनुभव र अनुसन्धानको विषयलाई पुस्तकमा समेट्ने कोसिस गरेको बताउँदै विश्व बैंक, एसियाली विकास बैंक र पूरै सरकार लाग्दा पनि शुरु नभएको इन्जिनीयरिङको शैक्षिक कार्यक्रम काविविमा शुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महत्वपूर्ण हुनसक्छ भनेर पुस्तक तयार पारिएको जानकारी दिए ।
प्रकाशक समा थापाले पुस्तकमा काठमाडौँ विश्वविद्यालयको इन्जिनीयरिङ विषयको शुरुआत र त्यसले नेपालमै पारेको प्रभावलाई उधिनेको बताए ।
प्रा डा थापा काविवि मेकानिकल इन्जिनीयरिङ विभागका प्राध्यापक छन् । लेक्चररबाट अध्यापन शुरु गर्नुभएका थापाले असिस्टेन्ट प्रोफेसर र एसोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रमा लामो यात्रा तय गरेका छन् । उनी विभागीय प्रमुख, डिन, रजिष्ट्रार र कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहेर प्रशासनिक योगदानसमेत दिँदै आएका छन् । उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा मेकानिकल इन्जिनीयरिङ विषयमा विद्यावारिधि गरेका छन् । यसअघि प्रा डा थापाको ‘इन्जिनीयरिङ शिक्षाका इन्जिनीयर’ पुस्तक प्रकाशनमा आइसकेको छ ।