प्रदेश 1

जुता सिलाएर आत्मनिर्भर

२९ पुस, विराटनगर / तराईको कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो होस वा चर्को घाम वा झरी नै किन न होस, ७० वर्षीय पच्चुराम हरिसन सडक पेटीमा सधैं व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता र चप्पल सिलाउन औंला चलाइरहन्छन् । प्रायः ग्राहकबाट उनी घेरिएका हुन्छन् ।
विराटनगर महानगरपालिका गुद्री बजारस्थित हनुमान मन्दिर छेउमा बसेर विगत ४० वर्षदेखि जुत्ता, चप्पल सिलाउने र पोलिस लगाउने काम गरेर उनको दिन बित्ने गरेको छ । “यो आफ्नो पुर्ख्यौली पेशा हो, बुबाबाट हेर्दाहेर्दै सिकियो, अहिले फाइदै भएको छ”, उनले भने, “दुःखमा जीवन धान्ने सीप नै रहेछ ।” उनकहाँ जुत्ता–चप्पल सिलाउनेको भीड नै लाग्छ  । जुत्ता–चप्पल सिलाएबापत उनले रु २० देखि एक सय ५० सम्म लिने गरेको छ । “यही सीपले पेट पालेका छौं”, उनले भने, “यो पेशा अहिले आम्दानीका एउटा भरपर्दा माध्यम बनेको छ ।”
कुनै तालीम नलिएको हरिसनसँग पेशाका लागि पुग्ने सीप छ । त्यही सीप आफ्नो परिवारको भविष्य निर्माणमा खर्चिन सडक पेटीमै बसेर उनी काम गर्छन । उनले यो पेशाबाट दैनिक कम्तीमा रु ५०० कमाउने गरेको बताए । उनले पुरुष ग्राहकभन्दा महिला ग्राहक बढी पैसा दिने गरेकाले उनीहरुप्रति मेरो सम्मान सधैँ नै उच्च छ भने । “प्रचण्ड गर्मी होस् वा बर्सात् वा हिउँद हामीलाई केही प्रभाव पर्दैन”, उनले भने, “हामी एउटा छाता झुन्ड्याउँछौँ र आफ्नो काममा व्यस्त हुन्छौं ।”

‘पसिना बगाएर खानुपर्छ’

पच्चुराम हरिसनको उमेर घर्किदैँ गएको छ । तर उनलाई ‘सकुञ्जेल हातपाखुरा बजारेर खानुपर्छ’ भन्ने लाग्छ । त्यसैले ढल्किँदो उमेरमा पनि उनले जोस–जाँगरका साथ हात–पाखुरा चलाइरहेका छन् । “सकुञ्जेल हातपाखुरा बजारेर, श्रम–पसिना बगाएर खानुपर्छ” उनले भने, “त्यसैले मैले यो उमेरमा पनि आफूले जानेको काम गरिरहेको छु ।” हातमा सीप र मनमा जोस–जाँगर भए, यसै व्यवसायबाट मनग्य कमाउन सकिने र पैसा कमाउन विदेश जानुनपर्ने उनको भनाइ छ । “गर्न सक्नेलाई यहीँ पैसा छ । हातमा सीप र मनमा जोस–जाँगर भए यसै व्यवसायबाट राम्रो कमाउन सकिन्छ”, उनले भने ।
हरिसनजस्तै विराटनगरमा धेरै व्यक्ति आफ्नै सीपबाट स्वरोजगार भएका छन् । तिनैमध्येका एक हुन् – मोची विनोदराम । विराटनगरको मुख्य बजार ट्राफिक चोकमा लगभग ३५ वर्षदेखि बसेर जुत्ताचप्पल सिलाएर उनले सात जनाको परिवार पाल्दै आएका छन् । उनले भने, “सडकपेटी नै हाम्रो घर भएको छ, बिहान ८ बजे आएर आफ्नो पसल लगाउँछौँ र राति अबेरसम्म काम गरेर घर फर्कने गरेका छौं ।” “म आफ्नो कामप्रति समर्पित छु, मैले बनाएको जुत्ताचप्पलमा ग्राहकले सन्तुष्टि व्यक्त गर्दा निकै खुशी लाग्ने गरेको छ”, उनले भने, “यो पेशामा धेरै पूँजी लगाउनु पर्दैन, मिहिनेत कम छ र आम्दानी पनि राम्रै हुन्छ ।”
उनले यही पेशाको माध्यमबाट घरपरिवार चलाउनुका साथै छोरीलाई विद्यालयमा पढाउने गरेको बताए । बुबाले यही पेशा अपनाउनु भएको थियो, बुबापछि अहिले म यो पेशा अपनाएको छु र यो परम्परा कहिलेसम्म चल्ने हो आफूलाई थाहा नभएको बताउने रामले भने, “भरपर्दो बासस्थान नभएकाले कहिले यहाँबाट लखेटिने हो, थाहा छैन ।” विनोदरामले भने, “अरू बेला जेजस्तो पीडा भोग्नु परे पनि कोरोना महामारीका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले हाम्रो जीवन निकै कष्टप्रद बन्नपुग्यो ।” बन्दाबन्दीमा व्यापार बन्द भएपछि कति खेर राहत आउँछ र जीवनयापन सहज हुन्छ भन्ने चिन्तामा बसेका बेला केही साथीभाइ वा आफन्तले सहयोग गर्दा निकै खुशी लागेको उनले बताए । उनले भने “बुबाबाजेको पेशाले जीवन त चल्छ तर धन आर्जन गर्न सकिन्न ।”

मासिक ४० हजार कमाइ

यस्तै विराटनगर रोडशेष चोकमा विगत २० वर्षदेखि यही पेशामा काम गर्दै आउनुभएका ५० वर्षीय श्याम मोचीले भने, “शुरुशुरुमा मानिसहरुले हेपेर कुरा गरेको देख्दा यो पेशा छाडेर अरू पेशा गर्ने सोच आयो । तर के गर्नु सोच मात्र आएर भएन, त्यसका लागि त धेरै पैसा चाहिन्छ । पैसाको अभावमा जुत्ताचप्पल सिलाएर समय बिताउँदैछु ।”
“करीब पाँच हजार भएमा यो व्यवसाय सञ्चालन गर्न सकिन्छ”, उनले भने, “यो व्यवसायका लागि ब्रस, क्रिम, पोलिस, धागो, जुत्ताको भित्रको सुल, काँटी, तुना, सुलेसनजस्ता सामग्रीको आवश्यकता पर्दछ । ” उनले एकजोर जुत्ता सिलाएको रु एक सय ३० र चप्पल सिलाएको रु एक सय लिन्छन् । “जुत्ता–चप्पल मर्मतका साथै बिक्रीबाट मासिक झण्डै ४० हजार कमाइ हुन्छ”, उनले भने । यस व्यवसायमा लागेपछि समयको सदुपयोगसँगै अर्थोपार्जन समेत भएको उनले बताए । “उमेर घर्किदैँ गयो । बल–जोडको काम गर्न सकिँदैन । त्यसैले पुर्ख्यौली पेशालाई व्यवसायिक रुपमा सञ्चालन गरेको छु”, उनले भने, “बसिबियाँलो भएको छ, साथमा कमाइ पनि । यस व्यवसायबाट राम्रै कमाइ हुन्छ ।”
विगतमा तराईमा विवाह वा महोत्सवमा बाजा बजाउने यी जातिका महिलाले सुँडेनीको काम पनि गर्ने गरेका थिए । यी समुदायका मानिसहरुले अहिले बाजा बजाउन छाडेका छन् भने उनीहरुका नयाँ सन्ततिले वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् ।