लुम्बिनी

आयुर्वेदिक उपचार सेवा केन्द्र सञ्चालनमा

२९ पुस, देउखुरी / नागरिकलाई आयुर्वेदिक पद्दतिद्वारा उपचार सेवा दिनका लागि राप्ती र बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ । आयुर्वेदिक पद्दतिद्वारा नागरिकको उपचारमा सहयोग पुराउन राप्ती गाउँपालिकाको कार्यालय मसुरिया, राप्ती आयुर्वेदिक चिकित्सालय तुल्सीपुर र प्रादेशिक आयुर्वेदिक चिकित्सालय विजौरीको पहलमा राप्ती गाउँपालिका–२ लालमटियामा कविराजसहितको सेवा केन्द्र सञ्चालनमा आएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया मानव जातिको व्यवहारलाई परिवर्तन गर्ने उद्देश्यले आयुर्वेद चिकित्साको उत्पत्ति भएकाले यसको संस्थागत विकासमा जोड दिइएको बताए । आरोग्य सेवा केन्द्रमा खासगरी पेटका रोग, कमलपित्त, नाक, कान र घाँटी, शल्य चिकित्सा, श्वासप्रश्वास, छातिसम्बन्धी रोग, पायल्स, फिस्टुला, स्त्री चिकित्सा, महिनावारी गडबडीलगायतका रोगको उपचार गरिने चिकित्सक मदनकुमार विसीले जानकारी दिए ।
प्रारम्भिक चरणमा सामान्य उपचार सँगसँगै तत्कालै विशेष उपचार पद्दति शुरु गरिने चिकित्सक विसीको भनाइ छ । देउखुरी उपत्यकामा चौथो आयुर्वेदिक सेवा केन्द्र र दाङमा पहिलो नागरिक आरोग्य सेवा केन्द्रको रुपमा रहेको यस केन्द्रले राप्ती गाउँपालिका तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई समेट्ने बताइएको छ । राजपुर गाउँपालिकामा दुई र गढवा गाउँपालिकाको गोबरडिहामा एउटा कविराजसहितको आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा रहेको र सेवा केन्द्रको सेवा गुणस्तर सुधार गर्दै लैजाने योजनासमेत रहेको बताइएको छ ।
बबई गाउँपालिका–६ कौशिलापुरमा पनि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । यसअघि बबई गाउँपालिकामा सङ्घीय सरकारको सहयोगमा १५ श्ययाको अस्पताल हंसपुरमा गत मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । त्यसैगरी हापुरेमा प्रदेश सरकारको सहयोगमा विशेषज्ञ स्वास्थ्य सेवासहितको अस्पताल निर्माणको तयारी भएको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले आयुर्वेद चिकित्सा पद्धतिमार्फत उपचारको थालनी गरेकामा खुशी व्यक्त गरे ।
सङ्घीय र प्रदेश सरकारले अस्पताल निर्माण तथा सञ्चालनका लागि प्रयास गरेको भन्दै सेवा केन्द्रमार्फत नागरिकले फाइदा लिनुपर्ने बताए । आरोग्य सेवा केन्द्रमा दुई कविराज र एक कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केन्द्रमार्फत ४० प्रकारका औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ ।