अन्तर्राष्ट्रिय

मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

क्वालालमपुर, २८ पुस । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।

मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताएका छन् ।

मलेसियामा कोरोनाका कारण अहिलेसम्म कूल एक लाख ४१ हजार ५३३ जना सङ्क्रमित भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

मन्त्रालयका महानिर्देशक नुर हिशन अब्दुल्लाहले जारी गरेको प्रेस वक्तव्यमा नयाँ सङ्क्रमितमध्ये छ जना देश बाहिरबाट सङ्क्रमित भएरै आएको र अरू तीन हजार ३०३ जना देश भित्रै एकबाट अर्कोमा सरेको उल्लेख गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये थप चार जनाको मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या ५५९ पुगेको छ ।

मलेसियामा अहिले पनि ३० हजार ३९० जना सङ्क्रमित अवस्थामै रहेका छन् भने तीमध्ये १९० जना अति सघन उपचार कक्षमा रहेका छन् । त्यसैगरी ८३ जनालाई श्वास प्रश्वासका लागि अक्सीजन दिनु परिरहेको पनि अधिकारीहरूले जनाएका छन् । देशका गृह मन्त्री हम्जाह जैनुदिन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये उनि तेस्रो मन्त्री भएका छन् । यसअघि आर्थिक मामिला मन्त्री मुस्तपा मोहमद र महिला, परिवार तथा सामुदायिक विकास मन्त्री रिना हरून पनि सङ्क्रमित भएका थिए ।