प्रदेश 1

खानेपानीमा सबैको पहुँच पुर्‍याउँदै कमल गाउँपालिका

२८ पुस, झापा / झापाको कमल गाउँपालिकाले खानेपानीको पहुँच सबै जनतामा पु¥याउने उद्देश्यले रु दुई करोडभन्दा बढीको खानेपानी पाइप खरीद गरेर विस्तार गरेको छ ।
सात वडा रहेको यस पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गौरवको योजनाअन्तर्गत नै खानेपानीको विस्तारलाई अघि बढाएको छ । पालिकाका अधिकांश बासिन्दाले यसअघि कल तथा इनारको पानी प्रयोग गर्दै आएका थिए ।
पालिकाकी अध्यक्ष मेनुका काफ्लेले खानेपानीको पहुँच नै नपुगेका वडा नं १ र ७ सहित पालिकाभरि नै खानेपानीको विस्तार गर्ने योजनाका साथ काम भइरहेको बताए । “स्वस्थ पानी पिउने हरेक जनताको नसैर्गिक अधिकार हो”, उनले भने, “उहाँहरुको अधिकारलाई सुनिश्चित गर्ने कर्तव्यअनुसार तीव्ररुपमा पाइप लाइन विस्तार र ट्याङ्की निर्माणको काम धमाधम भइरहेको छ ।”
उनले इनार र कलको पानीमा आइरन बढी भएका कारण विगतमा झाडा, बान्तासहित विभिन्न रोग लाग्ने समस्याबाट जनतालाई जोगाउन शुद्ध खानेपानीको व्यवस्था गरिएको बताए । उनले भने, “मान्छेको स्वस्थ्य नै महत्वपूर्ण हो । स्वस्थ रहनका लागि स्वच्छ पिउने पानी चाहिन्छ । हामी पालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ र गुणस्तरीय पिउने पानी पु¥याउँछौँ ।” हाल लखनपुरमा साढे चार लाख लिटर क्षमताको ट्याङ्की भए पनि थप एक लाख लिटरको निर्माण गर्ने काम भइरहेको छ । वडा नं २ मा यसअघि एक लाख लिटरको ट्याङ्की थियो । थप साढे चार लाख लिटरको ट्याङ्की निर्माणका लागि रु नौ करोडमा ठेक्का लागिसकेको उनको भनाइ छ ।
उनले डिप बोरिङ प्रविधिबाट खानेपानी निकालेर एकदेखि डेढ वर्षभित्रमा सबै पालिकावासीको खानेपानीमा पहुँच पु¥याउने जानकारी दिए । स्थानीय पत्रकार उमानाथ भण्डारीले घरघरमा पानी पुगेसँगै जनता उत्साही भएको बताए । उनले भने, “वर्षौंदेखि आइरन र आर्सेनिकयुक्त पानी खाइरहेका थियौँ, बल्ल स्वस्थ पिउने पानी पायौँ ।” उनले अझै पनि वडा नं १ का बासिन्दासम्म पानी नपुगिसकेको बताए । अन्य वडावासीले अधिकांश सफा र गुणस्तरीय पानी पाए पनि वडा नं १ मा पाइपलाइन विस्तार हुने काम मात्र भएको उनको भनाइ छ ।

कनकाईमा मेला नलाग्ने

प्रत्येक वर्ष कनकाई नदी किनारमा माघे सङ्क्रान्तिका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण कनकाई नगरपालिकाले मेला नलगाउने सार्वजनिक सूचना जारी गरेर जनाएको हो । माघ १ गते अर्थात् माघे सङ्क्रान्तिका दिन यहाँ मेला लाग्ने गरेको थियो । मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतबाट लाखौँ तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष कनकाई नगरपालिकाले मेला नलगाउने निर्णय गरेको हो ।
सूचनामा कोरोना भाइरस जोखिमका कारण यस वर्ष हाट बजार लगाउने, टेन्ट टाँग्ने, पिङ, सर्कस जस्ता मनोरञ्जनलगायत कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ । कनकाई नदीमा हिन्दू धर्मावलम्बीहरु मकर नुहाउन, पूजाआराधना गर्न नेपालका विभिन्न स्थानदेखि भारतको सिलगुढी, दार्जिलिङ, सिक्किमलगायतका स्थानबाट एक लाखभन्दा बढी भक्तजन आउने गर्थे ।