शिक्षा

सिकाइ निरन्तरता अभियान शुरु

२८ पुुस, काठमाडौँ / नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष युनिसेफ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा सो अभियान शुभारम्भ गरे । सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको सन्दर्भमा यस अभियानले विद्यार्थीको हक अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ बिहान वा बिदाको समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको कोर्स पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताए । विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहेको उल्लेख गरे ।