खेलकुद

तेस्रो लाफा ब्याडमिन्टन प्रतियोगिता हुने

२५ पौष, रुपन्देही। बुटवलमा रहेको लाफा समूहले खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । समूहले आज बुटवलमा पत्रकार सम्म्मेलन गरी आगामी माघ २३ र २४ गते तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
प्रतियोगितामा लुम्बिनी प्रदेशसहित काठमाडौँ, चितवन, मकवानपुर, कास्की, दाङ, सल्यान बाँकेलगायत जिल्लाबाट खेलाडी सहभागी हुने कार्यक्रम संयोजक ज्ञानु सारुले जानकारी दिए । प्रतियोगितामा यस वर्ष १५० बढी टिम सहभागी हुने समूहका संरक्षक वासुदेव लामिछानेले बताए ।
खुलातर्फ ९० तथा भेट्रान्सतर्फ ५० बढी टिमको सहभागिता रहने प्रतियोगितामा खुलातर्फका विजेताले रु ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ४१ हजार ५५५ तथा तेस्रो हुनेले रु ३१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न रु १६ लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएका छन् । समूहका उपाध्यक्ष पुरन गाहाले गत वर्षभन्दा धेरै खेलाडीको सहभागिता रहेन अपेक्षा गरेको बताए ।