प्रदेश 2

वन फँडानीविरुद्ध दिनहुँ खबरदारी

 २४ पुस, महोत्तरी । पुसको कठ्याङ्ग्रिदो जाडोबीच महोत्तरीमा वन फँडानीविरुद्धको खबरदारी भने तातेको छ । जिल्लाको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन रातारात फाँडिएपछि यहाँका आम युवा अहिले खबरदारीमा उत्रेका हुन् । 
बर्दिबासमा अचेल केही दिनयता दिनहुँजसो वन फँडानी गर्नेविरुद्ध कडा कारवाहीको माग गर्दै बढेको स्वरले माहोल तताएको हो । “कोही भाग्न उम्कन नपाउन्, वन फँडानीमा संलग्न सबैलाई कारवाही हुनैपर्छ” बर्दिबास चोकमा दिनहुँजसोे भेला हुने युवाको सामूहिक स्वर यस्तै गुञ्जन्छ । लाग्दो पुसमै रम्तेलडाँडा सामुदायिक वनको करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख काटेर वनक्षेत्र नाङ्गो बनाएपछि यहाँका युवाको आक्रोस बढेको हो । 
विक्रम सम्वत् २०४३ सालमा तत्कालीन सरकारले अतिक्रमित वन क्षेत्रको अतिक्रमण हटाएर नाङ्गोडाँडामा वृक्षरोपण गरेको र सो वन २०४९ सालमा रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिमा हस्तान्तरण भएको बर्दिबासवासी झलझली सम्झन्छन् । “मेरा पिताजी वन रक्षक हुनुहुन्थ्यो, म उनको हात समाएर कैयौं पटक यो वनमा आएको छु” अहिले पेशाले कानून व्यवसायी रहेका बर्दिबास–१ का  बासिन्दा ५० वर्षीय टीकाध्वज खड्का भन्छन्, “अपराधीहरुले सोतर बनाएछन्, यिनलाई कारवाही हुनैपर्छ ।” 
बस्तीभन्दा परको निर्जन वन क्षेत्रमा रातारात रुख काटेर काठ ओसार्दै गर्दा थाहा पाएपछि स्थानीयवासीको प्रतिवादले वन फँडानी गर्ने भागेका थिए । लगत्तै बर्दिबासका ५१ जना युवाले वन फँडानी गर्नेविरुद्ध अनुसन्धान र कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा उजूरीसमेत दिएका छन् ।
 संयुक्त उजूरीबारे अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ । बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले भब्सी नदी किनारको आफ्ना नाउँमा दर्ता रहेको जग्गा वन क्षेत्रमा देखाइ आवश्यक कागजात पु¥याएर वन फँडानी गरेको रहस्य पछि खुल्दै गएको हो । “यहाँ त वन फाँड्न निकै गृहकार्य पो भएको रहेछ” वन नजिकैको बर्दिबास–१ कै बासिन्दा ३० वर्षीय विजय पोखरेलले भने, “खोलाको जग्गा वनमा देखाउन बर्दिबास–१ वडा कार्यालय, बर्दिबासस्थित नापी र मालपोत कार्यालय अनि हाम्रै रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै संलग्न रहेछन् ।” घटना सार्वजनिक भएपछि अब जोजो संलग्न छन्, सबैमाथि कारवाही हुनैपर्ने विजयको थप माग छ ।
आचार्य र गौतमले आफ्ना नाउँमा दर्ता रहेको साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ ९हाल बर्दिबास–१० को कित्तानम्बर–३ को ०१–०२–११ ९एक बिघा दुई कठ्ठा ११ धुर क्षेत्रफल जग्गामा आफैंले रोपी हुर्काएको रुख कटानको स्वीकृति माग्दै डिभिजन वन कार्यालय महोत्तरीमा दिएको निवेदनअनुसार कागजात प्रक्रिया पु¥याएर वन फँडानी गरेका अब खुलेको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले नै फरक भूगोलको दर्ता जग्गा वनक्षेत्रमा देखाएर रुख कटान भएको स्वीकार गरे।
“हामी कहाँ (कार्यालयमा) जग्गाको लालपूर्जा, तिरो तिरेको रसिद संलग्न राखेर यो जग्गाको रुख (, टिक, मसला) काट्न स्वीकृतिका लागि निवेदन आयो”, डिभिजन प्रमुख साहले भने, “सोबारे यकिन बुझेर जानकारी गराउन आफ्नै मातहतका अधिकृत खटाएँ, सबै कागज कटान स्वीकृति दिन मिल्ने गरी आए, म पनि झुक्किएँ ।” आपूmले जिम्मेवार अधिकृतलाई खटाएको पत्रमै नापी, मालपोत, वडा कार्यालय र वन उपभोक्ता समितिलाई आवश्यक समन्वयका लागि अनुरोध गरेको र सबै ठाउँबाट किटानसाथ काट्न दिन मिल्ने ठहर भएको कागजात आएपछि कटान स्वीकृति दिएको साहको भनाइ छ । “सबै ठाउँमा आफैं पुग्न भ्याइँदो रहेनछ, जिम्मेवार अधिकृत र सम्वद्ध निकाय र कार्यालयको कागजमा विश्वास गरेँं” साहले भने, “मलाई पनि छक्याएछन् ।” 
स्थानीयवासीले हल्लीखल्ली गरेपछि तत्काल सो कार्यमा संलग्न आफ्ना मातहतका कर्मचारीमाथि कारवाही बढाएको उनले जानकारी दिए। अहिले सात जना कर्मचारी कारवाही प्रक्रियामा रहेको उनको भनाइ छ । झुठो व्यहोरा दिएर रुख कटानको स्वीकृति माग्ने आचार्य, गौतम र रुख काट्न संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिकाका सन्दिप नेपालीविरुद्ध महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भई तीनै जनामाथि पक्राउ आदेश जारी भइसकेको डिभिजन प्रमुख साहको भनाइ छ ।
 यस प्रक्रियामा रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउत एक साताअघि नै पक्राउ परिसकेका छन् । अन्य फरारहरुको खोजी भइरहेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । वन फँडानी प्रकरणमा आचार्य र गौतमको दर्ता कायम रहेको जग्गामै रुख रहेको र सो कटान स्वीकृति दिन मिल्ने किटानसाथ सिफारिस गर्ने वडा कार्यालय, मालपोत तथा नापी कार्यालय र अन्य मतियारको पनि खोजी गरिनुपर्ने स्थानीयवासी युवाको माग छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा संयुक्त उजूरी गर्नेमध्येका बर्दिबास–१ कै सौरभ खड्का भन्नुहुन्छ, “अगाडि स्पष्ट देखिएका जो छन्, तिनलाई कारवाही र षड्यन्त्रमा संलग्नहरुको खोजी गर्न सम्बद्ध कार्यालय र निकायको तत्परता देखिनु प¥यो ।” पूर्व–पश्चिम राजमार्गको बर्दिबास–१ मा रातु पुलबाट भब्सीपुलसम्मको करीब दुई किलोमिटर दूरीको ३०० मिटर  माथि (उत्तरतर्फ)  भित्ता (पाखा) मा नेवारडाँडा कामीडाँडा, चिहानडाँडा, रातमाटा र रम्तेलडाँडासहित चारवटा सामुदायिक वन क्षेत्र छन् । यी चारैमा भू–माफियाको आँखा गडेको बर्दिबास–१ कै सामाजिक, राजनीतिक कार्यकर्ता शङ्कर फुयाँलले बताए । 
नेवारडाँडा कामीडाँडा वनको १६ बिघे भनिने प्लटमा उच्च तहका राजनीतिक व्यक्तित्व, उच्च सरकारी अधिकृत र समाजका टाठाबाठाहरुले वन क्षेत्र अतिक्रमण गरेर साँध सीमा नै लगाएपछि कारवाही नभएको फुयाँलको आक्रोस छ । नेवारडाँडा कामीडाँडामा गत वर्षमात्रै प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव प्रेमनारायण कँडेलकै उपस्थितिमा गरिएको वन सीमाङ्कनमा करीब पाँच हेक्टर वन क्षेत्र अतिक्रमित भएको बताइएको थियो । 
अतिक्रमित वन क्षेत्र खाली गराउन डिभिजन वन कार्यालयले कुनै सक्रियता नदेखाउँदा वर्सेनी भू–माफियाको मन बढ्दै गएको यहाँका युवा बताउँछन् । हालै फाँडिएको रम्तेलडाँडा वन क्षेत्रको अवलोकन गरेका प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भने वन उजाड्ने कसैले छुट नपाउने र फँडानी र अतिक्रमणमा संलग्न सबैमाथि कारवाही गरिने प्रतिबद्धता जनाएका छन् ।