पत्रपत्रिका

ओली ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको खुलाशा

२४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’ को नाममा तेह्रथुमको आठराईमा भएको १ सय १० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले तोकेको सीमाभन्दा धेरै हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमको आठराई–४ इवाको तीनसल्लेस्थित जन्मघर र पुर्ख्यौली जग्गा । २०७१ भदौ २६ गते आठराई–४ र ५ को १ सय १० रोपनी जग्गा मालपोत कार्यालय संक्रान्ति बजार तेह्रथुमले केपी शर्मा ओली ट्रस्टको नाममा पास गरिदिएको कागजात कान्तिपुरलाई प्राप्त भएको छ । जबकि भूमि ऐन, २०२१ ले कुनै व्यक्ति या संस्थाले काठमाडौंबाहिरका पहाडी क्षेत्रको जग्गा ७० रोपनीभन्दा धेरै राख्न नपाउने स्पष्ट व्यवस्था गरेको छ ।

प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य संरक्षक तथा अध्यक्ष रहेको ट्रस्टले आठराई–४ र ५ को जग्गा खरिद गरेको थियो । सात सदस्यीय ट्रस्ट सञ्चालक समितिमा अरू पदाधिकारी भने परिवार र नातागोताबाहिरका छन् । मालपोत कार्यालय संक्रान्ति बजारले दिएको जग्गाधनी पुर्जामा ‘केपी शर्मा ओली ट्रस्टको कार्यालय बालकोट–४ भक्तपुर’ उल्लेख छ । प्रधानमन्त्री ओलीको निजी निवास पनि बालकोटमै छ ।

२०७१ मा ओलीको स्वास्थ्य अलि बिग्रिएको थियो । त्यतिखेरै आफ्नो नाममा ट्रस्ट खोल्ने र ट्रस्टबाट सामाजिक सेवा गर्ने उनको इच्छाअनुसार ट्रस्ट दर्ता गरिएको हो । ट्रस्टकै लागि भनेर ओलीले आफ्ना बुबाले बेचेको घरजग्गा पनि त्यतिखेरै फिर्ता गरेका थिए ।

त्यही घरमा पोहोर उनको जन्मोत्सव भव्य रूपमा मनाइएको थियो । आफ्नो ट्रस्टको नाममा जग्गा राख्न गाउँ नै खरिद गरेका ओलीलाई आउन–जान सजिलो होस् भनेर उनको घरछेउमा हेलिप्याडसमेत बनाइएको छ । खरिद गरिएको जग्गामध्ये अहिले ३० रोपनी तेह्रथुम बहुप्राविधिक शिक्षालय खोल्नका लागि सम्झौता गरेर दिइएको छ । अरू जग्गामा खासै काम भएको छैन ।

प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले अरू जग्गा पनि आवश्यकताअनुसार प्रयोग गर्दै जाने बताए । गाउँका घर र जग्गाजमिन खरिद गरे तापनि ओलीले गाउँलेलाई अनुकूलतामा बसाइँ सर्दा हुने बताएकाले केही गाउँले अहिले पनि त्यहीं छन् । यता ट्रस्टको जग्गा अवैधानिक रहेको उजुरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा परेपछि त्यसको झमेला गुपचुप रूपमै मिलाउन खोजिएको छ ।

कान्तिपुरबाट लिएको