राजनीति

आ-आफ्नो अनुकूलमा संविधानको ब्याख्या गर्नु खतरनाकः अध्यक्ष थापा

२२ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आ-आफ्नो अनुकूलमा संविधानको ब्याख्या गर्नु खतरनाक हुने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यस्तो चेतावनी दिएका हुन् ।

उनले जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक भएको तर,एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संबिधानको आशय र लोकतान्त्रीक मान्यता दुबै नभएको बताएका छन् । अध्यक्ष थापाले आ-आफ्नो स्वार्थ अनुकुल संबिधानको व्याख्या गर्नु खतरनाक हुने चेतावनी समेत दिएका छन् ।

उनले कानुनीरूपमा नेकपा अझै नफुटेको जिकिर गर्दै ताजा जनादेश प्राप्त नगरी कंग्रेसले सरकार बनाउने लोभ गर्नु पनि अनैतिक र अप्रजातान्त्रिक हुने बताएका छन् । थापाले केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

उनले संबिधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्ने नाकि कानुनी तिकडम र अपवित्र गठवन्धनले भन्ने धारणा व्यक्त गरेका छन् । अध्यक्ष थापाले आफ्ना मूलभूत मान्यताहरू नसमेटिएको कारण राप्रपाले यो संबिधानको विपक्षमा मतदान गरेको बताए । दुईतिहाइ बहुमतबाट पारित भएपछी प्रजातान्त्रिक मान्यता अनुरूप संविधानलाई आलोचनात्मक समर्थन गरेको बताएका छन् ।

साथै उनले संविधानका संवाहक नै संविधान हत्याको बाटोमा लागेको टिप्पणी गरेका छन् । अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेको भन्दै यस अवस्थामा राम !राम! भन्दा बढी केही भन्न नसकिने बताएका छन् ।  अध्यक्ष थापाले संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्ने भन्दै अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुन नहुनेमा पनि जोड दिएका छन् ।

उनले गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई स्पष्ट बहुमत दिएको र जनताको यो म्याण्डेटलाई नेकपाले धोखा दिएकाले यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संबैधानिक मान्यता भएको पनि बताएका छन् ।