खेलकुद

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

२० पुस, काठमाडौँ / अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।
टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।
होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाए । यस्तै डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिए । बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए । बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिए ।
लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिए । दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल भए । उनले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिएका हु्न् । लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिएका थिए । यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिए । यसअघि शुक्रबार यस यामको बिग बास लिगमा आफ्नो पहिलो खेल खेल्दै लामिछानेले दुई विकेट लिएका थिए ।